हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–८, एचआईडीमा बसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । आइतबार राती ११ बजेर ४० मिनेटको समयमा पोखराबाट कटारीतर्फ जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट पर्सा जिल्लाको सखुवा पर्सौनी गाउँपालिका–३, कटैयाका ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको हो ।
ना ७ ख ११०१ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका परबेजलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारको क्रममा सोमबार बिहान १ बजेर १३ मिनेटको समयमा परबेजको मृत्यु भएको प्रहरीले जनाएको छ । परबेजलाई ठक्कर दिने बस बारा प्रहरीले अमलेखगन्जबाट सोमबार बिहान ३ बजे नियन्त्रणमा लिएको छ । बस चालक उदयपुर जिल्लाको कटारी नगरपालिका–२ का ३९ वर्षीय युवराज माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक परबेज ट्रक धनी भएको प्रहरीले जानकारी गराएको छ । ना ५ ख ८६६८ नम्बरको ट्रक धनी परबेजले एचआईडीमा ट्रक बिग्रिएपछि मर्मत गरेका थिए । ट्रक मर्मत गरी मिस्त्री र सामान पुर्याउन पैदल जाने क्रममा बसले परबेजलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।











