लागूऔषध खैरो हेरोईनसहित पक्राउ परेका तीनजना ।

हेटौँडा : लागूऔषध खैरो हेरोईन कारोबारीसहित ३ जनालाई हेटौँडाबाट प्रहरीले पक्राउ गरेको छ । शुक्रबार मकवानपुर प्रहरीले ७ ग्राम ३९० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित ३ जनालाई पक्राउ गरेको हो ।

शु्क्रबार दिउँसो २ बजेको समयमा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१, चौकीटोलस्थित त्रिभुवन राजपथ सडकखण्डमा सवारी साधनहरु रोकेर सुरक्षाजाँच गर्ने क्रममा चौकीटोलबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना १ ह १५२८ नम्बरको अटोमा सवार हेटौँडा–११ का २७ वर्षीय सुमन गुरुङ र हेटौँडा–१ का २० वर्षीय बुद्धिमान थिङको साथबाट लागूऔषध खैरो हेरोईन ५०० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुमन र बुद्धिमानसँग सोधपुछ गर्ने क्रममा उनीहरुले हेटौँडा–१, लालझाडीका ३२ वर्षीय सुरेश तामाङसँग खरिद गरी ल्याएको भनी बताएपछि प्रहरीले सुरेश तामाङलाई समेत खोजी गरी अनुसन्धान गर्दा प्रहरीले सुरेशको साथबाट ६ ग्राम ८९० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरेको जनाएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।

शुक्रबार नै पक्राउ परे पनि प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेपछि मात्रै सार्वजनिक गरेको हो । पछिल्लो समय लागूऔषध खैरो हेरोईनको प्रयोग र कारोबार उल्लेख्य बढेको देखिन्छ । प्रहरीले उल्लेख्य संख्यामा खैरो हेरोईनसहित प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गर्दै आएको छ ।