हेटौँडा : मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा मकवानपुरले आज रौतहटको सामना गर्दैछ । नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा नुवाकोटमा शनिबारबाट राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु भएको हो ।
रिगल रिसोर्ट एन्फा मकवानपुरको महिला टिमको कप्तानी सुजिता स्याङ्तानले गर्नेछिन् । सुजिताले गत वर्ष यु–१९ राष्ट्रिय टिममा समेत स्थान बनाएकी थिइन् । प्रशिक्षक भीम लामा रहनुभएको छ । २० सदस्यीय महिला फुटबल टिमलाई मकवानपुर जिल्ला फुटबल संघले शनिबार बिदाई गरेको थियो । यसअघि भरतपुरमा भएको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा पनि मकवानपुरको सहभागिता रहेको थियो ।
मुख्यमन्त्रीकप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विभागीय टिमसहित ८ टिमको सहभागिता रहेको छ । बैशाख २० गतेसम्म हुने प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।











