हेटौंडाः राजमार्ग सुरक्षाका लागि खटिएका प्रहरीलाई आर्थिक प्रलोभन देखाउँदै पैसा दिन खोज्ने सवारी चालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बुधबार रातीको समयमा हेटौंडा–१९, नेवारपानीस्थित ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी चेक पोष्ट तथा हेटौंडा–८ स्थित ईलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी चेकपोस्टमा राजमार्ग सुरक्षाका क्रममा सुरक्षा मापदण्ड विपरित राँगा, भैंसी लोड गरी ल्याएको र आवश्यक कागजात नभएको भनी प्रहरीले रोक्दा प्रहरीलाई आर्थिक प्रलोभन देखाउँदै पैसा दिन लाग्दा ४ जना सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले ना ७ ख ६२२४ नम्बरको आईचर ट्रकका चालक पर्सा पर्सा जिल्ला वीरगंज महानगरपालिका–३२ का ३३ वर्षीय नसुरदिन अन्सारी, ना ४ च ८३९४ नम्बरको पिकअप गाडीका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–४, भेलही का २१ वर्षीय गुलाम अन्सारी, ना ६ ख ५६३६ नम्बरको ट्रकका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३२ का ३४ वर्षीय लाल अन्सारी र ना ६ ख ९४७ नम्बरको ट्रकका चालक सर्लाही जिल्लाको बरहथवा नगरपालिका–९, मूर्तियाका २३ वर्षीय अरूण महतोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बुधबारसम्ममा जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १५ जना सवारी चालकलाई पक्राउ गरेको जनाएको छ । उनीहरुविरुद्ध सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी अनुसन्धान भईरहेको जनाएको छ ।