हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नवनिर्मित महिला व्यारेक भवन उद्घाटन गरिएको छ । बुधबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले भवन उद्घाटन गर्नुभएको हो ।
महिला व्यारेक भवन एक करोड ९५ लाख ७३ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । व्यारेक भवन निमार्णका लागि मूल्य अभिवृद्धिकरसहित एक करोड ९१ लाख ९ हजार रुपैयाँ लागतमा २०८० साल असोज ८ गते रौतहट जिल्लाको गौरीगणेश कन्स्ट्रक्सन र जिल्ला प्रहरी कार्यालय मकवानपुर बीच निर्माण सम्झौता भए तापनि केहि डिजाइनहरु थपघट भएकोले परिमार्जित सम्झौता रकम वृद्धि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानएको छ ।

५०४ वर्गमिटर क्षेत्रफलको तीन तल्ले नवनिर्मित व्यारेकमा ५० जना महिला प्रहरी कर्मचारीले आवासीय सुविधा रहने बताइएको छ । जिल्ला प्रहरी कार्यालयमा अहिले ३८ जना महिला कर्मचारी कार्यरत छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईमा गरी मकवानपुरमा ९४ जना महिला प्रहरी कर्मचारी कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
प्रमुख अतिथि लामिछानेले नवनिर्मित महिला भवन निर्माण कार्यमा योगदान पुर्याएको भन्दै निर्माण कम्पनि गौरीगणेश कन्स्ट्रक्सनका संचालक पवन कुमार मिश्रलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । यस्तै प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र प्रहरी हवल्दार असर्फीलाल साहलाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माको पनि आतिथ्य रहेको थियो ।