हेटौँडा : १९औं लोकतन्त्र दिवसको सन्दर्भमा गैरसरकारी संस्था (गैसस) महासंघ मकवानपुरले लोकतन्त्रको सवलीकरणमा मिडियाको भूमिका विषयमा सम्पादकसँग संवाद कार्यक्रम गरेको छ । बुधबार बिहान हेटौँडा–२ स्थित गैसस महासंघको सभाहलमा भएको संवादमा सहभागीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागू भएपछि सञ्चारकर्मी सरकारको पहरेदार भन्दा पनि जागिर खाने प्रवृत्तिले सञ्चार माध्यमको भूमिका कमजोर बनेको बताएका थिए ।
सञ्चारकर्मीले तीनै तहको सरकारको काम, कारवाहीको पहरेदारी गर्नुपर्ने आवश्यकता विपरित प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, पालिका प्रमुख, उपप्रमुखदेखि वडाध्यक्षसम्मको प्रेस सल्लाहकार, प्रेस संयोजकको भूमिकामा रहेर जागिर खाने र कमिकमजोरी औँल्याउन छाडेको उनीहरुको भनाइ थियो । लोकतन्त्र दिवसको अवसरमा सरकारी निकायले कुनै किसिमको औपचारिक कार्यक्रम आयोजना नगरेकोमा गैससकर्मीले गुनासो गरेका थिए ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले मन्त्री, पालिकाका प्रमुखको सल्लाहकारको भूमिकामा पुगेकाहरु चाकडीमा लाग्नु गलत भएको बताउनुभयो । उहाँले नागरिक हक अधिकार सुनिश्चित गर्न अग्रसर हुनुपर्नेमा शासकहरू पनि जिम्मेवार हुन नसक्नु अर्को समस्याको विषय भएको औँल्याउनुभयो ।
समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकोले सार्वजनिक महत्वका विषयमा निरन्तर बहस जरुरी रहेको औँल्याउनुभयो । प्रजातन्त्र पुनस्र्थानापछि लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा मूलतः राजनीतिक नेतृत्व जिम्मेवार नहुनुको परिणाम हिजोका निरंकुश शासकहरु आज लोकतन्त्रको विरुद्धमा आवाज उठाउने अवस्थामा पुगेको सम्पादक श्रेष्ठको भनाइ थियो । आज लोकतन्त्रवादीहरु नै हिजोका निरंकुशहरुदेखि डराउनुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुहुँदै संघीयता लागू भएसँगै पत्रकारहरु पहरेदार भन्दा सल्लाहकारको नाममा, संयोजकको जागिर खान प्रेरित हुँदा मिडियाको भूमिका खुम्चिएको उहाँले जीकिर गर्नुभयो । आज लोकतन्त्रको उपलब्धिको व्याख्या गर्नु पर्ने समय विपरित लोकतन्त्रकै निरन्तर आलोचना भइरहेको उहाँले बताउनुयो ।
गैसस महासंघ केन्द्रीय समिति सचिव बुद्धशरण लामाले लोकतन्त्रमा पनि कुनै व्यक्ति र समूहको तारो बन्ने डरले बोल्न छाडेको बताउनुभयो । नागरिक समाजले राजनीतिक दल र सरकारलाई ध्यानाकर्षण गराउने गरी भूमिका बढाउनुपर्ने विषयमा गैसस महासंघले ध्यान केन्द्रित गरेको उहाँले जानकारी दिनुभयो । नागरिक समाजको महत्वपूर्ण अंगको रुपमा सञ्चार माध्यम र सञ्चारकर्मीको सवलीकरणका लागि तालिमको आयोजना गर्ने विषयमा पनि गैसस महासंघले तयारी गरिरहेको उहाँले बताउनुभयो ।
गैसस महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कमलकुमार बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा गैसस नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरिप्रसाद हुमागाई, गैसस महासंघ बागमती प्रदेश समिति सदस्य रामचन्द्र न्यौपानेको पनि उपस्थिति रहेको थियो । गैसस महासंघले बुधबार देशका ७७ वटै जिल्लामा सञ्चारकर्मीसँग छलफल गरेको छ । लोकतन्त्र दिवसकै अवसरमा बिहीबार गैसस महासंघले अन्तरक्रियाको आयोजना गरेको छ ।