हेटौँडा : हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयले प्रधानाध्यापकका लागि आवेदन खुल्ला गरेको छ । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रधानाध्यापकका लागि दरखास्त आव्हान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराम थापाले जानकारी दिनुभयो ।
विद्यालयमा आन्तरिकरुपमा मावि तहका शिक्षकलाई प्रधानाध्यापक पदका लागि दरखास्त आव्हान गरिएको हो । शिक्षा विकास महाशाखाको कार्यविधि अनुसार दरखास्त आव्हान गरिएको उहाँले जानकारी दिनुभयो । सोमबारदेखि लागु हुने गरी १५ दिनभित्र दरखास्त आव्हान गरिएको उहाँको भनाइ छ । यसअघिका प्रधानाध्यापक रमेश सुवेदीले बैशाख २ गतेदेखि लागू हुने गरी अवकाससहित प्रधानाध्यापक पदबाट राजिनामा दिनुभएको थियो ।
शैक्षिक सत्र २०८१ मा ३ सय विद्यार्थी अध्ययनरत ज्ञानदा मावि हेटौँडा बजार क्षेत्रकै कमजोर विद्यालयको रुपमा चिनिन्छ । वडाले शैक्षिक सुधारको प्रयास गरे पनि सुधार हुन नसकिरहेको अवस्थामा नयाँ प्रधानाध्यापक सक्षम र नेतृत्व गर्न सक्ने खोजी भइरहेको छ । १० नम्बर वडामा मावि तहको एक मात्रै सामुदायिक विद्यालय हो । वडामा एउटा संस्कृत वेद विद्यालय छ भने दुई वटा निजी विद्यालय छन् ।