खाद्यान्न सामग्री हस्तान्तरण गरिँदै ।

हेटौँडा : नेपाल निजामती कर्मचारी संगठनले ३५ औं स्थापना दिवसको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री तथा खाद्य सामग्री सहयोग गरेको छ । आइतबार संगठनले हेटौँडा–१०, गोरक्षश्वरधामस्थित संस्कृत वेद विद्यालयलाई शैक्षिक सामग्री तथा खाद्य सामग्री सहयोग गरेको संगठनको मकवानपुर जिल्ला अध्यक्ष यादविन्द्र पौडेलले जानकारी दिनुभयो ।

संगठनले कापी ३४ दर्जन, कलम ११ दर्जन र सिलिङ फाईन २ वटा, चामल, दाल, तेल, नुन गरी ३३ हजार १०५ रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो । संगठनले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष रचनात्मक र सामाजिक कार्यहरूको आयोजना गर्दै आएको छ । नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति तथा राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी मकवानपुरबाट विद्यालयलाई नगद २४ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलको सभाध्यक्षता तथा संगठनको केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । यस्तै संगठनका केन्द्रीय सदस्य हेमकुमार पाठक, मन्दिरा थापा, बागमती प्रदेश अध्यक्ष वरुणकुमार साहको विशिष्ट आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापा, शिक्षक तथा बटुकहरूको उपस्थिति रहेको थियो ।