हेटौँडा : गत बिहीबार एक टेलिभिजन अन्तरवार्तामा पत्रकारलाई ‘पत्रुकार’ भनेर अभिव्यक्ति दिनुभएकी हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले आइततबार सामाजिक सञ्जालमार्फत सञ्चार क्षेत्रप्रति आफ्नो सम्मान र सद्भाव रहेको बताउनुभएको छ । उहाँले अप्रत्यक्षरुपमा ‘पत्रुकार’ भन्नु आफ्नो गल्ती भएको स्वीकार्नु भएको छ ।
आइतबार बिहान नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष बालकृष्ण अधिकारीसहित पदाधिकारीसँग भेटेर नगरप्रमुख लामाले आवेशमा आएर आफूले गलत अभिव्यक्ति दिएको स्वीकार्नु भएको बताइएको छ । नगरप्रमुख लामाले लामो समयदेखि निष्क्रिय रहेको आफ्नो फेसबुकबाट संक्षिप्त स्वीकारोक्ति व्यक्त गर्नुभएको छ । नगरप्रमुख लामाले प्रेस स्वतन्त्रता र सञ्चार माध्यममाथिको आदरभाव बैशाख ४ गते उपमहानगरपालिकाले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख भए बमोजिम भनी जनाउनुभएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले नगरप्रमुखलाई आफूले ध्यानाकर्षण गराएको र आफ्नो ध्यानाकर्षणअनुसार नै नगरप्रमुख लामाले गल्ती सवीकार्नु भएको जानकारी दिनुभयो । नगरप्रमुख लामाले आगामी दिनमा प्रेस र उपमहानगरपालिकाको सम्बन्ध विगतमा झैं प्रगाढ रहने विश्वास व्यक्त गर्नुभएको छ । नगरप्रमुखको अस्वभाविक अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई सञ्चारकर्मीले ध्यानाकर्षण गराउँदा पनि महासंघले विज्ञप्ति समेत जारी गरेन । महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले नगरप्रमुखसँग कुराकानी भइरहेको भन्नुहुँदै आइतबार भेटेर महासंघका पदाधिकारी समक्ष नगरप्रमुख लामाले गल्ती स्वकार्नुभएको जानकारी दिनुभयो ।
आधुनिक शैलुनलाई इन्भर्टर र एसी जडान गर्न उपमहानगरपालिकाले सहयोग गर्ने नगरप्रमुख लामाको आश्वासनपछि हेटौँडा–४, शितलमहलचोकस्थित द नाइन्टिन शैलुनका सञ्चालन सुसन घलानले बैशाख ३ गते बुधबार उपमहानगरपालिकामा निवेदन दर्ता गराउनुभएको थियो । नगरप्रमुख लामाकै तोक आदेशमा दर्ता भएको निवेदनमा उपमहानगरपालिकाको आर्थिक विकास महाशाखाका अधिकारीले उपमहानगरका प्राविधिकलाई लागत अनुमान तयारपार्न तोक लगाएको पत्र सार्वजनिक भएपछि हेटौँडा उपमहानगर प्रमुख मीना कुमारी लामाको सर्वत्र आलोचना भएको थियो ।
