Home खेलकुद जिल्लास्तरीय आधारभूत भलिबल रेफ्री तालिम सुरु

जिल्लास्तरीय आधारभूत भलिबल रेफ्री तालिम सुरु

तालिम उद्घाटन कार्यक्रममा सहभागी अतिथिहरु ।

हेटौँडा : जिल्लास्तरीय आधारभूत भलिबल रेफ्री तालिम सुरु भएको छ । मकवानपुर जिल्ला भलिबल संघले आयोजना गरेको तालिम मंगलबार जिल्ला भलिबल संघ मकवानपुरका अध्यक्ष बसन्त कुमार सिटौलाको सभाध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो ।

तालिम हेटौँडा–४ स्थित हुप्रचैरमा संचालन भएको छ । तालिममा फिभ लेभल टु का कोच तथा अन्तर्राष्ट्रिय भलिबल रेफ्री विजयकृष्ण वादे र राष्ट्रिय रेफ्री विनोद श्रेष्ठले सहजीकरण गर्नुभएको छ । मकवानपुर, बारा, धादिङ, रसुवा, सर्लाही, पर्सा, चितवन, रामेछाप र सिन्धुली लगायतका जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तालिममा सहभागी भएका छन् । महिला ६ जना र पुरुष ३४ जना गरी जम्मा ४० जना सहभागी भएका छन् ।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोक्तानले भलिबल खेलको विकासका लागि सम्पूर्ण जिल्लाबाट उल्लेख्य मिहिनेत हुनुपर्नेमा जोड दिनुभयो । कतिपय व्यक्तिहरु तालिम लिएर निष्कृय भएको गुनासो गर्नुभयो । नयाँ वर्ष सँगै नयाँ उत्साह, जोस, जाँगरसहित भलिबल खेलाडी उत्पादनमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

Exit mobile version