आज चैत २० गते, ६८ औं राष्ट्रिय सहकारी दिवस । नेपालमा पहिलो पटक सहकारी संस्था स्थापना भएको दिनको स्मरणमा प्रत्येक वर्ष चैत २० गते सहकारी दिवस मनाउने गरिएको छ । चितवन जिल्लामा बखान सिंह गुरुङको अगुवाइमा २०१३ चैत २० गते पहिलो पटक सहकारी संस्था खुलेको मानिन्छ । नेपालमा सहकारी अभियान सुरु भएको सम्झनामा हरेक वर्ष चैत २० गते विभिन्न कार्यक्रम गरेर सहकारी दिवस मनाउने गरिएको छ । ‘मर्यादित सहकारीः सम्मुनत समाज’ भन्ने मूल नाराका साथ यसवर्ष विभिन्न कार्यक्रम गरेर राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।
विपन्न र न्यून आय भएकाहरुको आयआर्जन र सहज जीवनयापनमा सहकारीको भूमिकालाई महत्वपूर्ण मानिन्छ । विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने र आर्थिक विपन्नहरुलाई सहकारीमा आवद्ध गराएर एक–आपसमा सहकार्य गर्ने काम सहकारीले गर्नुपर्छ । त्यसैले त ‘सबैका लागि एक, एकका लागि सबै’ भन्ने अवधारणाबाट सहकारी संस्थाको विकास भएको मानिन्छ । विश्वभर नै सहकारी विभिन्न प्रकारका सहकारी संस्था खुलेका छन् । ती सहकारीले सदस्यहरुको हकहित र उनीहरुको जीवनस्तर सुधार गर्न आवश्यक कार्य गर्दै आएको छ । शहरी क्षेत्रमा बसोबास गर्नेहरुका लागि वित्तीय तथा बजारीकरणका धेरै अवसर हुन्छन् । उनीहरुमा यसको पहुँच पनि सहज हुन्छ । तर, ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरुलाई वित्तीय सुविधा उपलब्ध गराउन र वस्तु सेवाको बजारीकरणका लागि सहकारीले योगदान दिँदै आएको छ ।
नेपालमा सहकारी संस्था स्थापना भएको करिब ७ दशक पुगेको छ । पञ्चायती शासनकालभर सहकारीको विकास खासै भएन । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा सहकारीको विकास पनि निकै तीब्र गतिमा भयो । सरकारले ऐन, नियम, नीति बनाएर सहकारी संस्थालाई प्रोत्साहन र व्यवस्थापन गर्ने प्रयास गरेकै कारण सहकारी संस्थाहरु निकै खुले । सरकारले सरकारी, निजी र सहकारीलाई तीन खम्बे आर्थिक नीति मानेपछि यसको व्यापकता झन बढी भयो । गाउँघरमा मात्र नभई शहर बजारका गल्ली गल्लीमा सहकारी संस्था खुले । सहकारी संस्थाहरु सहकार्यको मूल्य मान्यताभन्दा नाफामुखी र प्रतिस्पर्धी बन्न थाले । संख्यात्मक रुपमा अन्य सहकारीभन्दा धेरै रहेका वित्तीय कारोबार गर्ने केही बचत तथा ऋण सहकारी संस्थाहरु संकटमा परेका छन् । उच्च महत्वाकांक्षा र सञ्चालकको बदमासी फितलो नियमनकै कारण ती सहकारीले सामूहिक हितभन्दा व्यक्तिगत हित केन्द्रित भए ।
समुदायका थोरै–थोरै बचत जम्मा गरी आवश्यक परेका बखत सरल प्रक्रियाबाट ऋण दिने कार्यले न्यून आयस्तर भएका तथा बैंक तथा वित्तीय संस्थाको पहुँचबाहिर रहेका व्यक्ति र समुदाय सहकारीबाट लाभान्वित भएका छन् । धेरै सर्वसाधारण सहकारीमा आवद्ध भएर लाभान्वित भए पनि पछिल्लो समय केही सहकारीले सर्वसाधारणको बचत अपचलन तथा हिनामिना गरेका कारण सहकारीप्रतिको विश्वास कम भइरहेको छ । आफ्ना सदस्यहरुबीच सहकार्य गरेर सामूहिक हितमा काम गर्नुपर्ने सहकारी सहकार्यविहीन भएर व्यक्तिगत हितमा केन्द्रित हुँदा सहकारी संस्थाहरु संकटमा पर्ने जोखिम बढेको छ । सञ्चालक तथा कर्मचारीले मनोमानी गरेर पारदर्शिता कायम गर्न नसकेका सहकारीका कारण अन्य सहकारीलाई पनि असर परेको छ । सहकारी दिवस मनाउँदै गर्दा र सहकारीको मूल्य मान्यता र सिद्धान्तअनुसार सहकारी संस्था सञ्चालनको स्पष्ट नीति तथा योजना बन्न सकेमा यसको सार्थकता हुने थियो ।
