लागूऔषध खैरो हेरोईन (दायाँ) सहित पक्राउ परेका राज श्रेष्ठ ।

हेटौँडा : लागूऔषध खैरो हेरोईनसहित मकवानपुर प्रहरीले हेटौँडा–१ का २४ वर्षीय राज श्रेष्ठलाई पक्राउ गरेको छ । सोमबार दिनको ४ बजेर ५० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चौकीबाट श्रेष्ठलाई ७ ग्राम ३७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०८–००१ ज ००१९ नम्बरको यात्रुबाहक गाडीलाई रोकेर सुरक्षाजाँच गर्दा राजको साथबाट लागूऔषध बरामद भएको प्रहरीले उल्लेख गरेको छ । लागूऔषध मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको अनुमति लिई प्रहरीले राजलाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । भारतीय सीमावर्ती क्षेत्र रक्सौल र आसपासबाट लागूऔषध खैरो हेरोईन प्रयोगकर्ता र व्यापारीले नेपाल भित्र्याउने गरेको छ ।