हेटौँडा ः गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजक, घाइते पत्रकार, सञ्चार माध्यममाथि भएको आक्रमणको विरोध जनाउँदै आएको नेपाल पत्रकार महासंघले आज पत्रकारका विभिन्न संगठनसँग छलफल गरेको छ । सञ्चारकर्मी र सञ्चार माध्यममाथि भएको आक्रमणविरुद्ध महासंघको आन्दोलनमा विभिन्न संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले महासंघको कार्यालयमा आयोजना गरेको छलफलमा संगठनका जिल्ला अध्यक्ष तथा प्रतिनिधि एवम् क्रियाशील पत्रकारले सञ्चारकर्मी र सञ्चार माध्यममाथिको आक्रमण निन्दनीय भएको उल्लेख गर्दै राज्य र गैर राज्य दुबै पक्ष सञ्चारकर्मी र सञ्चार माध्यमको सुरक्षाको सुनिश्चितता हुनुपर्ने बताएका थिए । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता तथा बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरको प्रमुख आतिथ्यमा छलफल भएको हो ।

छलफलमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरिप्रसाद हुमागाई, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य सुनिल खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यको पनि आतिथ्य रहेको थियो । छलफलमा प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्मा, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष राजन घिमिरेले महासंघको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्नुभएको थियो ।

आन्दोलनको कार्यक्रमअन्तर्गत यसअघि विरोध र्‍याली, कोणसभा, प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई, प्रदेशका मुख्यमन्त्री र संघीय सरकारका गृहमन्त्रीलाई महासंघले सञ्चारकर्मी र सञ्चार माध्यममाथि भइरहेको आक्रमण रोक्न र पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न ध्यानाकर्षण पत्र बुझाएको थियो ।