Home मुख्य समाचार नेपाली विषयमा सर्वोकृष्ट नतीजा ल्याउने प्रतीक र साक्षी सम्मानित

नेपाली विषयमा सर्वोकृष्ट नतीजा ल्याउने प्रतीक र साक्षी सम्मानित

प्रतीक र साक्षीलाई पुरस्कृत गरेपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : कक्षा–१२ को वार्षिक परीक्षामा अनिवार्य नेपाली विषयमा सर्वोत्कृष्ट नतीजा ल्याउने २ जना विद्यार्थी सम्मानित भएका छन् । शनिबार नेपाली लेखक संघको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा कक्षा–१२ को वार्षिक परीक्षामा नेपाली विषयमा सर्वोकृष्ट नतीजा ल्याउने हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसका छात्र प्रतीक ढुङ्गाना र साक्षी कुमारी लाललाई सम्मान गरिएको हो ।

मकवानपुर जिल्लाका माध्यमिक विद्यालयहरूबाट कक्षा १२ को वार्षिक परीक्षामा अनिवार्य नेपाली विषयमा सर्वोत्कृष्ट नतिजा प्राप्त गरेका प्रतीक र साक्क्षीलाई दामोदर–लोकप्रिया स्मृति पुरस्कार–२०८० बाट जनही ११ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । विष्णु गौतम र माधवप्रसाद पोखरेलले आफ्नो पूर्वजहरूको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कार लेखक संघ मकवानपुरले वार्षिक रूपमा विद्यार्थीलाई प्रदान गर्दै आएको छ ।

नेपाली लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्यको प्रमुख आतिथ्यमा तथा संघका अध्यक्ष छवि अनित्यको सभाध्यक्षतामा सम्मान कार्यक्रम भएको हो । अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय सदस्य आचार्यले सहित्यकारले साहित्यको माध्यमबाट समस्या समाधानको उपायको बारेका जानकारी गराउन आवश्यक रहेको बताउनुभएको छ । हरेक व्यक्ति फरक–फरक पार्टीमा आस्था राखेपनि नकारात्मक कुरालाई न्यूनीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष छवि अनित्यले ३ वर्षको अवधिमा गरेको कामको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा हरिप्रसाद पौडेल, देवराज तिवारी, केशव समर्पण सुवेदी, ज्योत्सना श्रेष्ठ, सानु खनालले रचना वाचन गरेका थिए । सम्मान कार्यक्रममा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरन बहादुर जोशी लगायत साहित्यकारको उपस्थिति रहेको थियो ।

Exit mobile version