Home मुख्य समाचार इन्द्रसरोवरमा अभिभावक शिक्षा कार्यक्रम सुरु

इन्द्रसरोवरमा अभिभावक शिक्षा कार्यक्रम सुरु

अभिभावक शिक्षा कार्यक्रममा सहभागी अभिभावक ।

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रम सुरु गरेको छ । अभिभावक शिक्षा कार्यक्रम अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा घोषणा कार्यक्रम अन्तर्गत गाउँपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिनुभएको छ ।

पालिकाले प्रत्येक वडाका अगुवा माध्यमिक विद्यालयहरुमा १–१ दिन गरेर ५ दिनसम्म अभिभावक शिक्षा कार्यक्रम संचालन हुनेछ । वडा शिक्षा समिति र अगुवा माध्यमिक विद्यालयको समन्वयकारी भूमिका रहेको छ । बालबालिकाको समग्र विकासमा विद्यालय मात्र पर्याप्त नभई घरपरिवारबाट प्राप्त हुने मार्गदर्शन पनि उत्तिकै महत्वपूर्ण हुने ठहर गर्दै अभिभावक शिक्षामा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत लामाको भनाइ छ । पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले ‘जागरूक अभिभावक, शिक्षित सन्तान’ भन्ने मूल नाराका साथ अभिभावक शिक्षा कार्यक्रम आयोजना गरेको जनाएको छ ।

अभिभावकलाई आधुनिक शैक्षिक विधि, बाल मनोविज्ञान र प्रविधिको प्रभावबारे जानकारी गराई बालबालिकाको सिकाइ तथा व्यवहार विकासका लागि अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख धर्मराज पन्तले जानकारी दिनुभयो । कार्यक्रममा प्रत्येक वडामा २ सयदेखि ३ सय अभिभावकको उपस्थिति रहने अनुमान गरिएको छ । कार्यक्रमको सहजीकरण अभिषेक घिमिरेले गर्नुहुनेछ । पहिलो दिनको कार्यक्रम २ नम्बर वडास्थित पञ्चकन्या माविमा अभिभावक शिक्षा कार्यक्रम भएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीसहित वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version