Home मुख्य समाचार नारी संरक्षण केन्द्रले मनायो रजत महोत्सव

नारी संरक्षण केन्द्रले मनायो रजत महोत्सव

नारी संरक्षण केन्द्रको रजत महोत्सवको अवसरमा प्रकाशन गरिएको स्मारिका विमोचन गरिँदै ।

हेटौँडा : मानव बेचविखन र सामाजिक विकृति विरुद्ध क्रियाशील रहँदै नारी संरक्षणको कार्य गर्दै आएको नारी संरक्षण केन्द्र हेटौँडाले रजत महोत्सव मनाएको छ । शुक्रबार हेटौँडामा एक समारोहका बीच रजत महोत्सव मनाएको हो ।

बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यमा केन्द्रले सरोकारवालाको उपस्थितिमा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । २०५८ सालमा स्थापित केन्द्रले हालसम्म १०२ जना बालबालिकालाई सुरक्षित बालगृह सेवा प्रदान गरेको जनाएको छ । ८७ जना बालबालिकालाई परिवारमा पुनर्मिलन गरिदिएको केन्द्रले ७५ जना महिलालाई जोखिमपूर्ण अवस्थाबाट उद्दार गरेको जानकारी गराएको छ । केन्द्रकी सचिव प्रतिकला चौधरीले प्रगतिप्रतिवेदन प्रस्तुत गर्नुहुँदै केन्द्रले समुदायमै रहेका २ हजार २ सय २५ जना विद्यार्थीलाई कक्षा १२ सम्मको अध्ययनमा सहयोग गरेको जानकारी गराउनुभयो । केन्द्रबाट लाभान्वितहरु अहिले २७ जना शिक्षण पेशामा र ५ जना अध्ययनका लागि विदेश पुगेको सचिव चौधरीले बताउनुभयो ।

केन्द्रको बालगृह निर्माणका लागि जग्गादाता बबिता बानियाँ र इन्द्रमान बानिया दम्पत्ति र रमेश गिरीलाई सम्मान गरेको छ । बानियाँ दम्पत्ति र गिरीले १÷१ कठ्ठा जमिन प्रदान गरेको केन्द्रका कार्यक्रम संयोजक जेरोम घलेले जानकारी दिनुभयो । रजत महोत्सवकै अवसरमा पूर्वकार्यक्रम संयोजक राम मिजार, हाल कार्यरत कार्यकारी निर्देशक गंगा तामाङ, बालगृहका सुरेश तामाङ र सुमिता तामाङलाई पनि सम्मान गरिएको छ । केन्द्रको बालगृह निर्माणमा सहयोग गर्ने विदेशी नागरिक पेरी बुर्खहोल्डर, स्वयम्सेवीको रुपमा सहयोगी क्याथरिन पापाग्नी र जोसोलिन जोन्सलाई प्रशंसापत्र प्रदान गरिएको थियो । केन्द्रकी संस्थापक लिला घिसिङको अध्यक्षतामा भएको रजत महोत्सवको अवसरमा प्रकाशित स्मारिका पनि विमोचन गरिएको थियो ।

Exit mobile version