फाइल तस्विर

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाको परेवा भीरहुँदै चैनपुर–रतुवा सडक निर्माण गर्न स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित जनप्रतिनिधिहरु अग्रसर भएका छन् । केहीदिनदेखि बागमती प्रदेशका मुख्यमन्त्री र प्रदेश तथा संघीय सांसदबीच जुहारी चलिरहेका बेला आइतबार मनहरी गाउँपालिकामा मकवानपुरको पश्चिम क्षेत्रबाट निर्वाचित स्थानीय, प्रदेश र संघीय प्रतिनिधिहरुले एकआपसमा आरोप–प्रत्यारोप नगर्ने, दोषारोपण नगर्ने र परेवाभीर हुँदै सडक निर्माण गर्न सहमत भएका हुन् ।

मकवानपुरको मनहरी गाउँपालिका हुँदै राक्सिराङ, थाहा नगर र छिमेकी धादिङ जिल्लासम्मको सडक योजनाको रुपमा विकास गर्न सकिने भएकोले परेवा भीर हुँदै सडक निर्माण गर्नुपर्नेमा जनप्रतिनिधिहरु सहमत भएको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले जानकारी दिनुभयो । छलफलमा संघीय सांसद विरोध खतिवडाले प्रदेशका मन्त्री, मुख्यमन्त्री गएर जनतालाई आश्वासन दिने तर, बजेट विनियोजन नगर्ने अवस्था हुन नहुने उल्लेख गर्नुहुँदै संघीय सरकारको प्राथमिकतामा नपर्ने क्षेत्रमा प्रदेश सरकारको ध्यान जानुपर्ने बताउनुभयो । राजमार्गको क्षेत्राधिकार संघीय सरकारको भएकोले प्रदेशस्तरीय योजनाको रुपमा मनहरी–राक्सिराङ–धादिङ सडक प्रदेश सरकारको प्राथमिकतामा पर्नुपर्ने सांसद खतिवडाको भनाइ छ ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले प्रदेश सरकारले विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार पारेर पेश गर्न भनेअनुसार डिपिआर तयार पारेर पेश गरे पनि बजेट विनियोजन नभएको भन्दै दुख व्यक्त गर्नुभयो । चालु आर्थिक वर्षका लागि परेवाभीरमा सडक बनाउन २ करोड बजेट गाउँपालिकाले नै विनियोजन गरेको र थप दुई करोड रुपैयाँ प्रदेशले दिने आशा गरेको अध्यक्ष मल्लले बताउनुभयो । प्रदेश सरकारले बजेट नदिए आगामी आर्थिक वर्षमा पालिकाले नै थप दुई करोड रुपैयाँ विनियोजन गरेर सडक बनाउने अध्यक्ष मल्लको अठोट छ ।

आइतबारको छलफलमा प्रदेश सभा सदस्य ओम ग्लान, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ला, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तान, संविधानसभा सदस्य राजाराम स्याङ्तानलगायतको उपस्थिति रहेको थियो ।