Home मुख्य समाचार मनहरीमा कृषितर्फ ९० प्रतिशत बजेट खर्च, सतप्रतिशत कार्यक्रम सम्पन्न

मनहरीमा कृषितर्फ ९० प्रतिशत बजेट खर्च, सतप्रतिशत कार्यक्रम सम्पन्न

फाइल तस्विर

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा कृषितर्फको सम्पूर्ण कार्यक्रमहरु सम्पन्न भएको जनाएको छ । गाउँपालिकाले कृषितर्फ गाउँपालिकाका सबै वडाहरुमा विविध कार्यक्रम तथा योजनाहरु सम्पन्न गरी विनियोजित बजेटको ९० प्रतिशत खर्च भएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा टनेल निर्माण कार्यक्रम, कृषि सामग्री वितरण, माटो परिक्षण, खाद्यान्न बाली र तरकारीको बीउ वितरण, च्याउ खेती तालिम लगायतका कार्यक्रमहरु सम्पन्न भएको जानकारी दिएको छ ।

गाउँपालिकामा जैविक तरकारी प्लाष्टिक हाउस (टनेल) निर्माण कार्यक्रम सम्पन्न भएको गाउँपालिकाकी कृषि प्राविधिक यशोधा दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा टनेल कार्यक्रमका लागि २९ लाख विनियोजन गरेको थियो । गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७ र ९ मा सञ्चालन गरिएको कार्यक्रमबाट ४० जना किसानहरु लाभान्वित भएको उहाँले बताउनुभयो । फलामको प्रयोग, थोपा सिचाँइ लगायतमा प्रयोगहरुले थोरै किसानहरु मात्र समेटिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले गत वर्ष वडा नम्बर ३ देखि ९ सम्मको तरकारी किसानहरुलाई तरकारीको बीउहरु वितरण गरेको छ । यस कार्यक्रमको लागि ३ लाख रकम विनियोजन भएको थियो । सिमि, कांक्रो, खुर्सानी तथा विभिन्न लहरे तरकारीहरुका बीउ वितरण गरिएको गाउँपालिकाले बताएको छ । त्यस्तै गाउँपालिकाले वडा नम्बर ६ मा खरबुजाको बीउ पनि वितरण गरेको थियो ।

गाउँपालिकाले गत आर्थिक वर्षमा किसानहरुलाई ७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्रीहरु वितरण गरेको छ । रोडाभेटर ३ थान, हाते ट्याक्टर ३ थान र स्प्रे पम्प ६६ थान गाउँपालिकाका वडा नम्बर ३, ४, ५, ६, ८ र ९ का किसानहरुलाई वितरण गरिएको गाउँपालिकाको कृषि प्राविधिक दुलालले बताउनुभयो । गाउँपालिकाले वडा नम्बर ४, ५ र ७ का विभिन्न स्थानहरुको माटो परिक्षण पनि गरेको छ । सो कार्यक्रमका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले १ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । गत आर्थिक वर्षमा वडा नम्बर ७ र ९ का कृषक समूह र टोल विकास संस्थाहरुमा आवद्ध किसानहरुलाई च्याउ खेती तालिम प्रदान गरेको गाउँपालिकाले बताएको छ । एक लाख विनियोजन गरिएको सो कार्यक्रमबाट २० जनाले तालिम प्राप्त गरेका छन् ।

गाउँपालिकाले गत आर्थिक वर्षमा विभिन्न वडाहरुमा खाद्यान्न बालीहरुको पनि बीउ वितरण गरेको छ । गाउँपालिकाले वडा १ का किसानहरुलाई विभिन्न जातका मकैको बीउ वितरण गरेको थियो । वडा नम्बर १ को १२ हेक्टर जमिनमा पुग्ने मकैको बीउ वितरण गरिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले वडा नम्बर २, ३, ४, ६, ८ र ९ का धान खेती लगाउने किसानहरुलाई धानको बीउ वितरण गरेको छ । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उपे्रतीले आउँदा दिनहरुमा गाउँपालिकालाई कृषि उत्पादनमा अँत्मनिर्भर बनाउँदै धेरै उत्पादन निर्यात गर्न सक्ने बनाउने बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षबाटै किसानहरुको समस्यालाई समाधान गर्दै प्रदेश सरकार र संघीय सरकार दुबैसँग सल्लाह र साझेदारी गर्दै कृषिमा आधुनिकीकरण ल्याउने बताउनुभयो । उहाँले किसानहरुमा देखिने मुख्य समस्या रासायनिक मलको अभावलाई समाधान गर्न प्रांगारिक मल उत्पादन गर्ने व्यवस्था मिलाउन आफुले पहल गर्ने बताउनुभयो ।

Exit mobile version