हेटौँडा : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी चर्च ब्वाइजले जितेको छ । सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मछिन्द्र क्लबलाई १–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले उपाधी जितेको हो । चर्च ब्वाइजलाई उपाधी दिलाउन समीर तामाङ नायक बने । उनले खेलको ४७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । म्यान अफ द म्याच तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
उपाधीसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मछिन्द्रले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधी जितेको हो । मछिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका टेकेन्द्र थापा, डिफेन्डर मछिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मछिन्द्रका रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
बागमती गाउँपालिका खेलकुद विकास समितिले गाउँपालिकाको खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान पु¥याएको भन्दै रेडियो झुरझुरेका स्टेशन म्यानेजर विवेक सिन्तानलाई १५ हजार राशीको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्ष तथा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, एन्फा केन्द्रिय सदस्य टीकाराम लामा लगायतको आतिथ्य रहेको थियो ।