हेटौंडाः सिविन बाल हेल्पलाइन मकवानपुरले हेटौंडा अस्पतालमा उपचारत बालबालिकालाई सहयोग गरेको छ । हेल्पलाइनले आर्थिक अवस्था कमजोर भएका ३ बालबालिकालाई उपचार गर्न सहजताका लागि अस्पतालमै पुगेर विरामीका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको सिविन बाल हेल्पलाइन मकवानपुर जिल्ला संयोजक झविन्द्र ज्ञवालीले बताउनुभयो ।
हेल्पलाइनले थाहा नगरपालिका–६, बज्रबाराही घर भएका तेज बहादुर मोक्तानका ८ वर्षीय छोरा सिजन तामाङलाई ७ हजार रुपैयाँ सहयोग गरेको छ । पेटमा पानी जमेको र क्षयरोगबाट ग्रसित सिजनको उपचारको क्रममा सिटि स्क्यान गर्न आर्थिक अभाव भएको थाहा पाएपछि सिविनले सहयोग गरेको ज्ञवालीले जानकारी दिनुभयो ।
सिविनले बकैया गाउँपालिका–५, तीनतलेका मनोज थिङका साढे १ वर्षका छोरा रिदम थिङलाई ४ हजार २ सय रुपैयाँ सहयोग गरेको छ । आन्द्रामा गिर्खा आएर बिरामी भएका रिदमको उपचारका लागि सिविनले सहयोग गरेको हो । यस्तै हेटौंडा–१, नकौलीका मनोज पाख्रिनका १० वर्षीया छोरीलाई ३ हजार १ सय ३१ रुपैयाँ सहयोग गरिएको छ ।
उनको पेटमा पानी जमेकोले एक्सरे गर्नका लागि सहयोग गरिएको सिविनले जनाएको छ । उपचारमा संलग्न चिकित्सकसँग समेत परामर्श गरेर आवश्यक देखिएका बालबालिकाका लागि सिविनले सहयोग गरेको संयोजक झविन्द्र ज्ञवालीले बताउनुभयो ।