Home मुख्य समाचार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा. लम्साल नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा. लम्साल नियुक्त

प्रा.डा. लम्साललाई शिक्षाध्यक्षको नियुक्तिपत्र प्रदान गर्नुहुँदै मन्त्री खड्गी ।

हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा प्रा.डा. दिनेश कुमार लम्साल नियुक्त हुनुभएको छ । आइतबार प्रा.डा. लम्साललाई ४ वर्षे कार्यकालका लागि शिक्षाध्यक्ष नियुक्त गरिएको हो ।

बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शिक्षाध्यक्ष पदमा प्रा. डा. लम्साललाई नियुक्त गर्नुभएको हो । प्रदेशमा स्वास्थ्य मन्त्रालय रहेपनि कानून संशोधन नहुँदा उक्त मन्त्रालयले अधिकार पाउन सकेको छैन । जसका कारण स्वास्थ्य मन्त्रीले नियुक्त गर्नुपर्ने शिक्षाध्यक्ष सामाजिक विकास मन्त्रालय मार्फत् गरिएको हो ।

प्रा.डा. लम्साललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को दफा १९ उपदफ (१) अनुसार शिक्षाध्यक्ष पदमा नियुक्त गरिएको हो । गत वैशाख २०८१ मा मात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नियुक्त हुनुभएका उहाँलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त गरिएको हो ।

इमर्जेन्सी तथा फेमिली मेडिसिनका विशेषज्ञ रहनुभएका लम्साल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक पुनरावलोकन समिति सदस्य समेत भइसक्नुभएको छ । सिभिल अस्पतालमा १५ वर्ष काम गर्नुभएका लम्साल यसअघि बीर अस्पतालमा ७ वर्ष प्राध्यापन गर्नुभएको थियो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले राजिनामा दिनुभएपछि शिक्षाध्यक्ष पद रिक्त रहेको थियो ।

Exit mobile version