हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको नुवकोट र चितवन जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । नुवाकोट जिल्लाको बिदुर नगरपालिका–१०, भैसेभिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीय ईश्वर नगरकोटी रहेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार साँझ ५ बजेर ४५ मिनेटको समयमा नगरकोटी आफ्नै खरबारीमा दाउरा काट्न जाने क्रममा भिरबाट ५० मिटर तल खोल्सामा खस्दा घाइते भएका थिए । घाइते नगरकोटीलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको थियो । उपचारको क्रममा बेलुका ७ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–५, तिन नम्बर पुल अगाडि त्रिशुलि नदी किनारमा एक जना पुरुष मृत फेला परेका छन् । शनिबार दिउँसो ३ बजेर १० मिनेटको समयमा त्रिशुलि नदी किनारमा नाम, थर नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–२, आंपटारीमा बिरामी अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा दुवै खुट्टा नभएको इन्डियन मुलुकको जस्तो देखिने अन्दजी ५५ वर्षीय पुरुष बिरामी अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । बिरामी पुरुषलाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको थियो । आइतबार बिहान ८ बजेर ३० मिनेटको समयमा उपचारको क्रममा पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।










