Home खेलकुद पालिस्तरीय दौड प्रतियोगितामा गोले प्रथम

पालिस्तरीय दौड प्रतियोगितामा गोले प्रथम

दौड प्रतियोगिता विजेताहरु

हेटौंडा: बकैया गाउँपालिकास्तरीय दौड प्रतियोगितामा राजकुमार गोले विजयी भएका छन् । हातेमालो बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार बकैयाको गरगरे सेवा केन्द्रमा आयोजित प्रतियोगितामा गोले प्रथम भएका हुन् ।

नेपाल एथलेटिक्स संघ बकैयाको प्राविधिक सहयोगमा भएको दौड प्रतियोगिता बकैया–४, गरगरेबाट सुरु भई बकैया–५ स्थित श्रीपुर गुम्बा हुँदै पुनः गरगरेमै आएर टुंगिएको थियो । प्रतियोगितामा १२ देखि ४१ वर्षसम्मका २८ जना सहभागी भएका थिए । प्रतियोगितामा सन्तोष गौतम द्वितीय र अनिस थिङ तृतीय भएका छन् । विज्ञान भोम्जन सान्त्वना भएका हुन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने खेलाडीले क्रमशः ५ हजार, ३ हजार, २ हजार र एक हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

हातेमालो बचत तथा ऋण सहकारीका अध्यक्ष सीताराम दहालको सभाध्यक्षमा भएको प्रतियोगिताको उद्घाटन बकैया गाँउपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले गर्नुभएको थियो । सहकारीका व्यवस्थापक रमला सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा बकैया खेलकुद विकास समिति अध्यक्ष विजय थिङ, बकैया ३ नम्बर वडा अध्यक्ष भुवलसिं घलान, ५ नम्बर वडा अध्यक्ष लक्ष्मी जिम्बा, ६ नम्बर वडा अध्यक्ष फूलबहादुर भोम्जन, ७ नम्बर वडा अध्यक्ष मानबहादुर स्याङ्तान, स्थानीय प्रहरी, सहकारीकर्मी, राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Exit mobile version