Home खेलकुद अनुपम घलान स्मृति फुटबलको उपाधि हेटौंडा–१५ ले जित्यो

अनुपम घलान स्मृति फुटबलको उपाधि हेटौंडा–१५ ले जित्यो

उपाधिसहित हेटौँडा–१५ को फुटबल टिम ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकास्तरीय अनुपम घलान स्मृति यु–१६ फुटबल प्रतियोगिताको उपाधि हेटौँडा–१५ को टिमले जितेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा हेटौँडा–१८ लाई सडन डेथमा हराउँदै हेटौंडा–१५ ले उपाधि जितेको हो ।

उपाधिसँगै हेटौँडा–१५ ले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हेटौँडा–१८ को टिमले ७० हजार रूपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि नतिजाका लागि टाइब्रेकरको साहारा लिनु परेको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि सडन डेथमा हेटौँडा–१५ का खेलाडी विकास थिङले प्रहार गरेको बल गोलमा परिणत भएसँगै हेटौँडा–१५ ले उपाधि जितेको हो ।

टाइब्रेकरमा हेटौँडा–१५ बाट रेहान घलान, नवीन लो, कविर वाईबा, रोहित डिम्डुङ्ग, एञ्जल स्याङ्तान र विकास थिङले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । हेटौँडा–१५ बाट प्रेजल लामाले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन । हेटौंडा–१८ बाट निशान थिङ, अभिराज थापा मगर, मोहित विश्वकर्मा, समीर घलान र साजन लोप्चनले प्रहार गरेको बल गोलमा परिणत हुँदा रिदम थापा र नेशस सुनुवारले प्रहार गरेको बल गोल हुन सकेन ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै हेटौँडा–१८ का अभिराज थापा मगरले १० हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक हेटौँडा–१५ का उज्जव वाईबासँगै हेटौँडा–१५ बाटै उत्कृष्ट फरवार्ड रेहान घलान, उत्कृष्ट गोलरक्षक विकेश थिङ, उत्कृष्ट डिफेन्डर नविन लो घोषित हुँदा उत्कृष्ट मिडफिल्डर हेटौँडा–१८ का साजन लोप्चन घोषित भए । विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।

हेटौँडा उपमहानगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो । हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेको सभाध्यक्षमा तथा कार्यवाहक नगरप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको थियो । समापन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, वडाध्यक्षहरु रामकृष्ण थापा, सुकराम केसी, अनिल कुमार बानियाँको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version