१. “आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार हुन” भन्ने भनाई हामीले धेरै वर्ष पहिलेबाट सुन्दै र पढ्दै आएका हौं । निश्चय नै, वर्तमानमा यो राष्ट्रका नेतृत्व गरिरहेका, सरकारका मन्त्रिहरु, उच्च पदस्थ कर्मचारीहरु र सबै जिम्मेवार पदाधिकारीहरु कुनैबेला बालबालिका थिए । त्यस्तै, आजका ससाना केटाकेटीहरु भविष्यका यो मुलुकका नेतृत्वकर्ता बन्ने छन् र संवाहक हुनेछन् । वर्तमानका यिनै बालबालिकामा यो राष्ट्रको समृद्धि निर्भर गर्दछ । विगतमा बालमैत्री अवस्थाका चर्चा बिरलै सुनिन्थे । केटाकेटीका लागि तत्कालिन स्थिति पनि सकारात्मक थिएन । खानपिनका बारेमा, लगाउने ड्रेसका सवालमा, केटाकेटीको स्वास्थ्य अवस्था र पढाई लेखाई अर्थात शिक्षाका बारेमा कोहि गम्भिर बन्दैनथे । क्रमशः परिस्थितिमा सुधार हुँदै आएको हो । आज प्रत्येक पाईलामा बाल अधिकारको चर्चा सुन्न सकिन्छ । राष्ट्र संघीय बाल अधिकार सम्वन्धि घोषणा पत्रमा सन १९९० मा नेपालले हस्ताक्षर गरे पश्चात यहाँ बाल अधिकार एक विषय बनेको तथ्य सर्व बिदितै छ । सन १९९२ को बालबालिका ऐन, सन १९९५ मा नियमावली र सन १९९९ मा ऐनमा नै बालश्रम निषेध गर्ने व्यवस्था थप स्मरणीय कानूनी व्यवस्थाका महत्वपूर्ण र उल्लेखनीय दस्ताबेजहरु भन्नै पर्दछ । यी व्यवस्थालाई सकारात्मक रुपमा लिन सकिन्छ ।
२. हाम्रो मुलुकमा, बालमैत्री स्थानिय शासन राष्ट्रिय रणनीति–२०६८ निर्माण पश्चात बालमैत्री वातावरणका पक्षमा योजनाबद्ध कार्यक्रम देखिन थालेका छन् । नेपालको संविधान–२०७२ ले बालबालिकाका हकमा बाल अधिकारका सबालमा मौलिक अधिकारका अतिरिक्त शिक्षा स्वास्थ्यको सुनिश्चितता गरेको छ । पछिल्ला वर्षहरुमा बाल मैत्री शिक्षाको आवाज प्रखर बनेको छ । बाल मैत्री हुन वा बनाउनका लागि सरकारले निश्चित सूचकहरु निर्धारण गरेको छ । बालमैत्री स्थानिय शासनका लागि ५१ वटा सूचकहरु तेकिएका छन् । त्यसैगरि, बालमैत्री विद्यालयका लागि पनि यी मापदण्डहरु किटानी गरिएका छन् । अस्पताल वा स्वास्थ्य चौकीमा नै जन्म हुँदा सुरक्षित मातृत्व र शिशुको सुस्वास्थ्यका लागि जोड दिईएको स्थिति अर्को महत्वपूर्ण सन्दर्भ भन्नै पर्दछ । बालमैत्री स्थानिय शासनका सूचकहरु मध्ये पहिलोमा बालबालिकाको संरक्षणसंग जोडिएका विषयहरु जस्तो बाल बिवाह, बाल श्रम, समुदायमा आधारित बाल सुरक्षाका पक्षहरु, जरुरी खोपहरु, लगायतका कुराहरु तोकिएका छन् । शिक्षासंग जोडिएका विषयवस्तुहरु जस्तो स्कूल भर्ना, दण्डरहित शिक्षा, ड्रप आउटको अन्त्य, बालमैत्री फर्निचर र कोठा सहितका व्यवस्थित भवन आदि किटानी गरिएका छन् । त्यस्तै राम्रो स्वास्थ्य अर्को महत्वपूर्ण र अनिवार्य शर्त रहेको छ । स्वास्थ्यका आधारभूत कुराहरुको सुनिश्चितता अन्तर्गत स्वस्थ वातावरण, स्वच्छ पानी, पोषणयुक्त खानेकुरा आदि निर्धारण गरिएका छन् । त्यस्तै बाल सहभागिताका सबाललाई प्राथमिकतामा राखिएको छ । स्थानिय विकासका विविध क्षेत्रहरुमा बाल आवाजको सुनुवाईलाई महत्वपूर्ण सूचकको रुपमा समावेश गरिएको छ ।
३. निश्चय नै, बालबालिकाको सबालमा प्रस्तुत राष्ट्रिय रणनीति राम्रा छन् । नीति र कार्यक्रम मात्र राम्रा भएर पुग्दैन, व्यवहारमा कार्यान्वयन हुँदामात्र यो सार्थक बन्न सक्छ । सर्वप्रथमतः उनीहरुको स्वास्थ्य प्रमुख पक्ष हो । राम्रो स्वास्थ्यका लागि उपयुक्त वातावरण, पोषणयुक्त खाना, बिरामी पर्दा आवश्यक उपचार आदि नभै हुँदैन । केटाकेटीहरुको संरक्षण र उचित हेरचाह नै सबैभन्दा महत्वपूर्ण कुरा हो । कुनैपनि कारणले विद्यालय जाने उमेरका बालबालिका स्कूल बाहिर रहँनै हुन्न भन्ने मान्यतामा कसैको बिमति छैन । बालबालिकाको सिकाईमा अभिभावक गम्भिर हुनैपर्छ । घर पहिलो पाठशाला भनिन्छ । तब मात्र, स्कूलको समग्र वातावरण बालमैत्री छ वा छैन, नभए बनाउनै पर्ने हुन्छ । बच्चाहरुले खेल्दै सिक्दै गरिने अवस्थाको श्रृजना आजको सबाल हो । स्वस्थ मनोरंजनलाई निषेध गरिनु हुन्न । भय रहित शिक्षण आज अधिक चर्चामा छ । बाल हिंसा कानूनले नै सिधै अस्विकार्य गरेको छ । यौन हिंसा तथा बाल विवाहलाई दण्डनीय मानिएको छ । सबै प्रकारका हिंसा विरुद्ध बाल आवाजलाई प्रोत्साहन गरिने भनिएको छ । घर देखि समाज सम्म बालबालिकाको उपयुक्त स्थान अर्को जरुरी पक्ष हो । प्रजातान्त्रिक परिपाटीले बालबालिकालाई सम्बोधन गर्नै पर्छ । प्रजातन्त्र भनेको युवाहरु र वृद्धहरुका लागि मात्र हैन, बालबालिकाको लागि पनि देखिनु पर्दछ ।
४. पछिल्ला वर्षहरुमा बालमैत्री विद्यालय घोषणाको लहर चलेको छ । वडाहरु अनि गाउँपालिकाहरु मात्र हैन, नगरपालिकाहरु पनि बालमैत्री घोषणा गर्नमा प्रतिस्पर्धा गरिरहेका छन् । यो सकारात्मक भन्नै पर्दछ । बालमैत्रीका निर्धारित सूचकहरु मध्ये करिब दुई तिहाई पूरा भएपछि घोषणाका तयारी हुने गरेका छन् । वि.सं.२०७८ को जनगणनाले १४ वर्ष मुनीका बालबालिकाहरु कुल जनसंख्याको २८.७ प्रतिशत भएको देखाएको छ । यो संख्या सामान्य होईन । सन २०३० सम्ममा देशका ७५३ वटै स्थानिय पालिकाहरु बालमैत्री घोषणा गरि सक्ने नेपाल सरकारको लक्ष्य रहेको छ । स्थापना दिवसको अवसर पारेर हेटौंडा उपमहानगरपालिका २०८१ फागुन १ गते बालमैत्री उपमहानगर घोषणा भएको हो । मकवानपुरका १० वटा स्थानियतहहरु मध्ये बकैया, मनहरि र मकवानपुर गढि समेत ३ वटा गाउँपालिका यस अघि नै बालमैत्री घोषणा भै सकेका छन् । अन्य जिल्लाहरुममा विभिन्न पालिकाहरु बालमैत्री घोषणा भै सकेका र कतिपय क्रममा छन् । पछिल्लो तथ्याङ्क अनुसार, करिब ३ देखि ४ वर्षका बालबालिकाहरु मध्ये ७२ प्रतिशत मात्र ईसिडि कक्षामा भर्ना भएको भनिएको छ । प्राथमिक तहका उमेर समुहमा पनि अझै करिब १० प्रतिशत केटाकेटीहरु विद्यालय बाहिर रहेको उल्लेख छ । कक्षा १ मा करिब १६ लाख केटाकेटीहरु भर्ना हुँदा १० वर्ष पछि एसईईको परीक्षामा करिब ५ लाख मात्र विद्यार्थी सहभागी भएको तथ्याङ्कले हाम्रो शिक्षा व्यवस्थामा गम्भिर चुनौति भएको स्विकार्नै पर्दछ ।
५. अन्तमा, बालमैत्री घोषणा कार्यक्रम मात्र कार्यक्रमका लागि र बजेट खर्च देखाएर कार्य सम्पादन मूल्याङ्कनमा पुरस्कृत हुनका लागि एक सिंढी मात्र नबनोस । निकृष्ट बालश्रमको अन्त्य अन्यन्त सान्दर्भिक सबाल हो । केटाकेटीहरुले सिकाईसंग लक्षित सक्दो काम र क्रियाकलापमा भने सहभागी बन्नुलाई अन्यथा भन्न मिल्दैन । विद्यालयमा हुनुपर्ने बालबालिका ईंटा भट्टामा, गिट्टि बालुवा बोक्नमा, होटलमा भाँडा माझ्नमा, सडकमा प्लाष्टिक बटुल्नमा, गाई बाख्रा गोठालामा, घाँस दाउरा बोक्न जंगलमा, खेतबारीको शारीरिक श्रममा, उद्योग कारखानाका मजदूरीमा हुने जस्ता अवस्थाहरु भने पीडादायी हुने भएकाले यी निकृष्ट बालश्रम नै हुन् र अबिलम्व अन्त्य हुनै पर्दछ । त्यस्तै विद्यालय बालमैत्रीका नाममा रत्तिपनि भय नदेखाई सिकाई सबै अवस्थामा सम्भव हुँदैंन । सामान्य त्रास जरुरी पर्न सक्छ । देखासिकीमा दौडेर मात्र हैन, यथार्थ स्थितिको विश्लेषण पहिलो शर्त हो । सम्भव भएका हदसम्म माया र प्रोत्साहन पहिलो शर्त हो । आतङ्क रहित शिक्षणमा कुनै सम्झौता गरिनु हुन्न । सबै क्षेत्रमा हिंसा बर्जित हाम्रो पहिचान बन्नुपर्छ । अरुका लागि हैन, हामीले हाम्रा लागि र हाम्रै मुलुकका लागि गर्ने हो । समृद्ध राष्ट्र निर्माणको अभियानमा बालमैत्रीको मात्र सबाल हैन, युवामैत्री र बृद्धामैत्रीका बारेमा पनि पर्याप्त चर्चा र बहस गरिन बिलम्व भैसकेको छ ।
