Home खेलकुद बागमती सरकारले छान्यो १२ खेलका २६ स्वयंसेवक प्रशिक्षक

बागमती सरकारले छान्यो १२ खेलका २६ स्वयंसेवक प्रशिक्षक

हेटौँडा : बागमती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेश स्वयंसेवक प्रशिक्षक छनौट गरेको छ । परिषद्ले फागुन ६ मा एक सूचना जारी गर्दै विभिन्न खेलका २६ जना स्वयंसेवक प्रशिक्षक छनौट गरेको हो ।

परिषद्का सदस्य–सचिव दीपक लामाका अनुसार गत पुसमा स्वयंसेवक प्रशिक्षक नियुक्ति गर्ने निर्णयसहित प्रक्रिया अघि बढाएको थियो । १२ विधाका खेलका फागुन २ मा सूचना आह्वान गरी प्राप्त निवेदनका आधारमा छनौट गरिएको सदस्य सचिव लामाले जानकारी दिनुभयो । प्राप्त निवेदनको आधारमा अन्तरवर्ता, शारीरिक तन्दुरुस्ती लगायत परीक्षण गरी स्वयंसेवक प्रशिक्षकको अन्तिम नामावली प्रकाशन गरेको उहाँको भनाई छ ।

चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वयंसेवक प्रशिक्षकहरु सूचीकृत गरी छनौट गर्नुपर्ने र कार्यक्षेत्रमा खटाउनुका लागि गत पुस ५ मा सूचना जारी गरेको उहाँले बताउनुभयो । बागमती प्रदेशको स्वयंसेवक प्रशिक्षक परिचालन कार्यविधि–२०८१ को दफा ११ को उपनियम (१) अनुसारको प्राप्त आवेदन मार्फत् फागुन २ मा संक्षिप्त सूचि तयार गरिएको हो । सो सूचिका आधारमा फागुन ५ गतेमा अन्तरवार्ता तथा शारीरिक तन्दुरुस्ती परीक्षण गरी अंक निर्धारण गरी नामावली प्रकाशन गरिएको उहाँले बताउनुभयो ।

परिषद्ले करातेमा ४, उसुमा ३, एथ्लेटिक्समा १, तेक्वान्दोमा २, भलिबलमा १, फुटबलमा १, बक्सिङमा ३, टेबलटेनिसमा २, नेटबलमा २, व्याडमिन्टनमा २, फुलकन्ट्याक्ट करातेमा ४ र आईटिएफ तेक्वान्दोमा १ जना स्वयंसेवक प्रशिक्षक नियुक्तिका लागि सूचना आह्वान गरेको थियो । जस अनुसार आइटिएफ तेक्वान्दोका लागि प्रभुदेव शिवाकोटी, उसुतर्फ विश्वनाथ पाठक, रमेश सुवाल, शर्मिला कारन्जित सफल उम्मेदवार रहेका छन् । एथ्लेटिक्समा रमेश सुनार, कराँतेमा रविन्द्र मानन्धर, रोदन राना मगर, मनिषा रानाभाट, कमल घले, टेबलटेनिसमा आशिष अवाले, रविना देसार, तेक्वान्दोतर्फ केशर बहादुर पहरी, शरण घले तामाङ छनौट भएका छन् । भलिबलतर्फ उत्सव खड्का, सुरज भुजेल, व्याडमिन्टनमा चन्दन घले, रविन्द्र भुजेल, नेटबलतर्फ एलिसा शाही, फुटबलतर्फ नदिम देसार, फुल कन्ट्याक कराँते जयराम भुलुन, जय देसार, धनबहादुर तामाङ, राजु तामाङ र बक्सिङतर्फ अजित गुरुङ, सूवर्ण सापकोटा, किशोर खत्री छनौट भएका छन् ।

त्यस्तै उसुतर्फ मन्जुर महर्जन, प्रेमचन्द्र दर्लामी मगर, एथलेटिक्सतर्फ सपना आचार्य, कराँतेमा सुशान्त मोदक, रश्मिमाया लामा, टेबलटेनिसमा सुनिल महर्जन, तेक्वान्दोमा निरुकुमारी मगर, फुलकन्ट्याक कराँतेमा सन्तोष कुमार लामा, विजय राई र बक्सिङमा महेश रिजाल, रमेश दास श्रेष्ठ वैकल्पिक सूचिमा रहेका छन् ।

उहाँका अनुसार छनौट भएका प्रशिक्षकहरु नियुक्त गरी माग भएका जिल्लाहरुमा खटाइने छ । प्रदेशका १३ जिल्लामा खेलाडी प्रशिक्षणका लागि नियुक्त भएका स्वयम्सेवक प्रशिक्षकहरु खटाइने उहाँले जानकारी दिनुभयो । स्वयंसेवक प्रशिक्षकले सेवा गरे वापत मासिक २२ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने छन् । छनौट भएका स्वयंसेवक प्रशिक्षकलाई ६ महिनाको करार नियुक्त गरिने र सो पश्चात आवश्यकताका अनुसार पुनः करार नवीकरण गरिने छ ।

Exit mobile version