हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिकामा भएको पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि भवानी माध्यमिक विद्यालयले जितेको छ । बिहीबार सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर–३ को भवानी माविले जितेको हो ।
उपाधि जितेको भवानी माध्यमिक विद्यालयले ९ वटा स्वर्ण, एउटा रजत र २ काँस्य पदक प्राप्त गरेको छ । प्रतियोगिता भवानी माविकै खेल मैदानमा भएको थियो । गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा २ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाको ६ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
उपविजेता बन्न पुगेको कमलादेवी माध्यमिक विद्यालयले ४ स्वर्ण पदक र एउटा काँस्य पदक प्राप्त गरेको छ । तृतीय भएको कालिका माध्यमिक विद्यालयले २ वटा स्वर्ण, ४ वटा रजत र ६ वटा काँस्य पदक प्राप्त गरेको छ ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत हाइजम्प खेलमा छात्रातर्फ समूना मल्ल, गोमा बर्तौला र रुथ जिम्बा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । छात्रतर्फको हाइजम्पमा नमराज मुक्तान, उसप मुक्तान र विशाल मोक्तान क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । सटपुट खेलको छात्रातर्फ सरिता सुनार प्रथम, भीममाया गुरुङ द्वितीय र लक्ष्मी थोकर तृतीय भएका छन् भने छात्रतर्फ अजित थिङ प्रथम, उदय मुक्तान द्वितीय र साजनकुमार वाईवा तृतीय भएको कैलाश खेलकुद विकास समितिका सदस्यसचिव तथा शिक्षा शाखा प्रमुख समीर जोशीले जानकारी दिनुभएको छ ।
ज्याभलिङ थ्रो खेलमा छात्रातर्फ मुना गुरुङ प्रथम, प्रियन्ना थिङ द्वितीय र मनिषा मुक्तान तृतीय भएका छन् भने छात्रतर्फ नवराज मुक्तान प्रथम, दिवाकर प्रजा द्वितीय र सोनाम घिसिङ तृतीय भएका छन् । लङ्गजम्पको छात्रातर्फ समूना मल्ल प्रथम, विनिता थिङ द्वितीय र गोमा बर्तौला तृतीय भएका छन् । ८ सय मिटर दौडको छात्रतर्फ अनक मुक्तान प्रथम, विकास थिङ द्वितीय र विप्लव घिसिङ तृतीय भएका छन् । प्रतियोगिताको ४ सय मिटर दौडको छात्रातर्फ सदीक्षा गुरुङ प्रथम, रेश्मा स्याङ्बो द्वितीय र सञ्चमाया मुक्तान तृतीय भएका छन् । छात्रतर्फ ४ सय मिटर दौडमा रमन थिङ प्रथम, सुरेश खड्का द्वितीय र सुनिल प्रजा तृतीय भएका छन् ।
२ सय मिटर दौडको छात्रातर्फ सविना वाईवा प्रथम, मनिषा नेगी द्वितीय र मनमाया बुलुन तृतीय भएका छन् । २ सय मिटर दौडको छात्रतर्फ आमोश चेपाङ प्रथम, सुदीप मुक्तान द्वितीय र दिवाकर प्रजा तृतीय भएका छन् । एक सय मिटर दौडको छात्रातर्फ प्रकृति सुवेदी प्रथम, गोमा बर्तौला द्वितीय र सविना वाईवा तृतीय भए भने छात्रतर्फ विकास थिङ प्रथम, विकास परियार द्वितीय र निमा थिङ तृतीय भएको शिक्षा शाखा प्रमुख जोशीले बताउनुभयो ।
भलिबल खेलमा कमलादेवी माध्यमिक विद्यालय विजेता बन्दा धुवाङ माध्यमिक विद्यालय उपविजेता बनेको छ । खेलकुद विकास समितिका संयोजक मोहन वाईवाको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह भएको थियो । प्रतियोगितामा कमलादेवी मावि कैलाश–२, भवानी मावि कैलाश–३, व्यास मावि कैलाश–६, धुवाङ्ग मावि कैलाश–८, कालिका मावि कैलाश–९ र रत्नज्योति मावि कैलाश–१० का विद्यार्थीहरुले सहभागिता जनाएको खेलकुद विकास समितिले जनाएको छ ।