हेटौँडा : स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा राजन घिमिरे (अनुराग) निर्वाचित हुनुभएको छ । शुक्रबार भएको चौथो अधिवेशनबाट घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा रविन्द्र कार्की, सचिवमा बसन्त भण्डारी, कोषाध्यक्षमा अस्मिता भट्टराई चयन हुनुभएको छ । सदस्यमा नवीन चौधरी, सुमिना चौलागाईं र प्रमोद सहनी चयन हुनुभएको छ । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । संघका अध्यक्ष गोकुल अधिकारी, केन्द्रीय समिति उपमहासचिव सुरेश श्रेष्ठको उपस्थितिमा अधिवेशन भएको हो ।

नवनिर्वाचित अध्यक्ष राजन घिमिरेले नवनिर्वाचित समितिका पदाधिकारी, अग्रज र नयाँ पुस्ताका साथीहरुसँग परामर्श गरी स्वतन्त्र पत्रकारिताको प्रवद्र्धन, पत्रकारहरूको हकहित संरक्षण तथा संघलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघको गतिविधिलाई व्यवस्थित गर्दै नियमित बैठक, पत्रकारिता तालिम, कानुनी सहायता तथा डिजिटल प्रवद्र्धनलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

अधिवेशनलाई सम्बोधन गर्नुहुँदै संघका संस्थापक अध्यक्ष सुरेश श्रेष्ठले संघको स्थापनाकालदेखि अहिलेसम्म अभ्यास बारे जानकारी गराउनुहुँदै पत्रकारिताको विश्वसनीयता कायम राख्न पत्रकारहरूले उच्च नैतिकता अपनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारहरूको पेशागत सुरक्षाका लागि संघ अझ क्रियाशील बन्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै संघको नेतृत्वदायी भूमिकाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो ।

संघका निवर्तमान अध्यक्ष गोकुल अधिकारीले स्वतन्त्र पत्रकारिताको सशक्तीकरणका लागि सबै पत्रकारहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । संघलाई अझ सक्रिय र प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ कार्यसमिति चयन गरिएको उल्लेख गर्नुहुँदै अधिकारीले सहजै नेतृत्व हस्तान्तरण र नयाँ पुस्तालाई सहजीकरण गर्दै जानुपर्ने बताउनुभयो । नयाँ कार्यसमिति चयनसँगै स्वतन्त्र पत्रकार संघ मकवानपुरले आगामी दिनमा पत्रकारिताको गुणस्तर अभिवृद्धि, प्रेस स्वतन्त्रता प्रवद्र्धन र पत्रकारहरूको हकहित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।