हेटौँडा : बागमती प्रदेशसभाबाट प्रदेश खेलकुल विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकले उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
प्रदेशसभाको शनिबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेश गर्नुभएको प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो । बैठकमा प्रदेशको युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले विधेयक माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । उक्त विधेयक माथि प्रदेश सभा सदस्यहरु रत्नप्रसाद ढकाल, छिरिङ दोर्जे लामा छलफलमा भाग लिनुभएको थियो । ढकाल र लामाले उठाएका प्रश्नमा मन्त्री महर्जनले जवाफ दिनुभएसँगै सभामुख पाठकले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गर्नुभएको थियो । सभामुख पाठकले निर्णयार्थ पेश गर्नुभएको उक्त विधेयक बैठकमा उपस्थित प्रदेश सभा सदस्यहरुले ‘हुन्छ’ भन्दै सर्वसम्मत स्वीकृत गरेको हो ।
दशौं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै उक्त विधेयक संसदीय समितिमा नपठाई सोझै सभाबाट पारित गरिएको थियो । प्रदेशसभा सचिवालयका अनुसार विधेयकमा अन्य विषयहरु संशोधन नरहेको र मन्त्रालयको नामाकरणको विषय मात्र संशोधन रहेकाले प्रदेशसभाबाट छलफल गरी पारित गरिएको हो । गत २ जेठ २०८१ को प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयबाट प्रदेश सरकार (कार्यविभाजन) नियमावली २०८० को अनुसूचीमा हेरफेर गरी साविकको सामाजिक विकास मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुदसम्बन्धी कार्य जिम्मेवारीसहित नयाँ मन्त्रालयको रुपमा युवा तथा खेलकुद मन्त्रालय स्थापना भएको थियो । उक्त व्यवस्थालाई सच्याउन विधेयक संशोधन गरिएको हो ।
मन्त्री महर्जनका अनुसार उक्त विधेयक पारित भएसँगै खेलकुद क्षेत्र र खेलाडीहरुको हितमा काम गर्न रहेको कानुनी अड्चन हटेको छ । प्रदेशलाई खेलकुदको हवको रुपमा विकास गर्न र खेलाडीहरुको मुल्यांकनसहित व्यवस्थापनमा विधेयक प्रभावकारी हुने उहाँले बताउनुभयो । प्रदेशसभाबाट पारित भएको उक्त विधेयकले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाबाट प्रमाणीकरण भएपछि ऐनको रुप लिनेछ र कार्यान्वयनको चरणमा अघि बढ्ने छ ।
विधेयक पारित भएसँगै अब परिषद्को अध्यक्ष प्रदेशका युवा तथा खेलकुदमन्त्री रहनेछन् । युवा र खेलाडीको हितका लागि आवश्यकता महसूस गरेर स्थापना गरिएको युवा तथा खेलकुद मन्त्रालय अधिकार विहिन थियो । मन्त्रालय मातहत परिषद्हरु नहुँदा मन्त्रालयले अपेक्षाकृत काम गर्न सकिरहेको मन्त्री महर्जनले बताउनुभयो । ‘प्रदेशमा खेलाडी र समग्र खेलकुद विकासको एजेण्डा निर्माणका लागि कानूनी अडचन छ । मन्त्रालय अन्तर्गत आवश्यक कानुन नहुँदा काम गर्न असहज हुँदै आएकोमा अब काम गर्न धेरै बाटाहरु खुलेका हो । अब प्रदेशलाई खेलकुदको हवको रुपमा विकास गर्न र खेलाडीको स्तर वद्धिमा सरकारको कामले तिव्रता पाउँछ ।’ उनले भने ।
प्रदेशसभाको बैठकले ४ वटा विधेयकलाई दफावार छलफलका संसदीय समितिमा पठाउने निर्णय गरेको छ । शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेश सभामा पेश भएका ४ वटा विधेयकलाई दफावर छलफलका लागि समितिमा पठाएको हो । प्रदेशसभाको बैठकमा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको तर्फबाट श्रम, रोगगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएकोमा प्रदेश सभाको बैठकबाट समितिमा दफावार छलफलका लागि पठाएको छ । प्रदेशसभाको बैठकले दुवै विधेयक शिक्षा स्वास्थ्य तथा कृषि समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मतिले स्विकृति प्रदान गरेको छ ।
यस्तै उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ संशोधन गर्न बनेको विधेयक प्रदेशसभाको उद्योग वाणिज्य तथा वातावरण समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मतिले स्विकृति प्रदान गरेको थियो ।