प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका अध्यक्ष र सदस्यहरु ।

हेटौँडा : हेटौँडामा अनुप घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आगामी फागुन ७ गतेदेखि प्रतियोगिता हुनेछ ।

हेटौँडा–१२ निवासी अनुपम घलानको गत असोजमा पहिरोमा परेर निधन भएको थियो । एन्फा एकेडेमीका किशोर खेलाडी घलानको निधनपछि उहाँको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद विकास समिति हेटौँडाका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभएको छ । प्रतियोगिता हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुनेछ ।

प्रतियोगिताका लागि हेटौँडा उपमहानगरपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ७० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गर्नेछ ।