हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पाठेघरको मुखको क्यान्सर रोगको चुनौती बढ्दो रहेको बताउनुभएको छ । उहाँले नेपालमा वर्षेनी हजारौं महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट प्रभावित भइरहेको बताउनुभयो ।
हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयबाट पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले नेपालमा दैनिक ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरबाट मृत्यु वरण गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुहुँदै यस्तो भयावह अवस्थालाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वयमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु गरिएको बताउनुभयो ।
‘पाठेघरको मुखको क्यान्सर रोग पूर्णरुपमा नियन्त्रण गर्न खोप अभियान संचालन गरिएको हो । खोपबाट दैनिक ४ जना महिलाहरुको मृत्यु हुने दरलाई नियन्त्रण गर्न सकिन्छ’, मुख्यमन्त्री लामाले भन्नुभयो, ‘महिलाहरु आफूलाई भएको समस्या लुकाएर राख्ने अवस्थाले पीडामा छन् । रोग लुकाएर राख्नुभन्दा समयमा नै स्वास्थ्य संस्थामा गएर उपचार गराउनुपर्छ । रोगको सुरुवातमा नै उपचार गरेर निर्मुल गर्नुपर्छ । रोग लुकाएर राख्नु भन्दा उपचारमा लाग्नु उपयुक्त हुन्छ ।’
मुख्यमन्त्री लामाका अनुसार पछिल्लो समय क्यान्सर प्राणघातक रोगसँगै आर्थिक रुपले पनि जटिल बनिरहेको छ । क्यान्सरको उचारमा भन्दा पनि सहायक रोगको व्यवस्थापनमा बढी खर्च हुने गरेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नेपालमा नसर्ने रोगबाट मृत्यु हुने दर बढ्दो रहेको बताउनुभयो । उहाँले ७० प्रतिशत मानिसको नसर्ने रोगबाट मृत्यु भइरहेको र नसर्ने रोगको क्षति रोक्नुपर्ने चुनौती रहेको बताउनुभयो ।