हेटौंडाः दलित महिला संघ (फेडो) मकवानपुरले पत्रकारसँग अन्तरक्रिया गरेको छ । नेपालमा दलित महिला तथा किशोरीको मानव अधिकार प्रवद्र्धन सञ्चार माध्यममा दलित, महिला समुदायका सवालमाथिको प्राथमिकता विषयमा अन्तरक्रिया गरेको हो ।
आइतबार नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा अन्तरक्रिया गरिएको थियो । नेपालमा दलित महिला तथा किशोरीहरुको मानव अधिकारको ३ वर्षे परियोजनाअन्तर्गत अन्तरक्रिया कार्यक्रम भएको हो ।
दलित महिला संघका उपाध्यक्ष सुनिता दर्नाल परियारको सभाध्यक्ष तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । पत्रकार महासंघ मकवानपुर अध्यक्ष अधिकारीले सञ्चारकर्मीहरु दलित महिलाको अधिकारका विषयमा संवेदनशील भएर लागेको र आगामी दिनमा सक्दो प्रभावकारी ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दलित महिला संघ मकवानपुरका कोषाध्यक्ष मालती विश्वकर्माले कतिपय वडामा दलितको शीर्षकमा बजेटसमेत विनियोजन नभएको बताउनुभयो । मानव–मानवबीच नै समान व्यवहार नभए समृद्ध नेपाल सुखी नेपालीको अवधारणा पूरा हुन नसक्ने उहाँले बताउनुभयो ।
दलित महिला संघ मकवानपुर २५ जना अगुवा अभियन्ताले गठन गरेको संस्था हो । संघले मकवानपुर जिल्लाभर काम गरेता पनि हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकालाई विशेष कार्यक्षेत्र बनाएको बताइएको छ ।