हेटौँडा ः नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथि कै हमला भएको बताउनुभएको छ । सरकारले संसद्लाई कमजोर र विस्थापित बनाउन खोजेको समेत उहाँले अरोप लगाउनुभयो ।
प्रेस सेन्टर नेपाल मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव गुरुङले सरकारले ३१ वटा कानुनलाई अध्यादेश मार्फत संशोधन गर्नुले सरकारको नियत नै गलत भएको उहाँको भनाई छ । महासचिव गुरुङले विगतमा प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टचार विरोधी अभियानलाई ओली नेतृत्वले सरकारले रातारात उल्टाउने काम गरेको बताउनुभयो ।
‘देशको लोकतन्त्र र राष्ट्रियतामाथि खतरा पैदा भएको महासचिव गुरुङको धारणा छ । सरकारको सोच र चिन्तनको कारण मुलुक गम्भिर संकटमा फस्दै गएको र अन्र्तराष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले नेपालको स्वाधिनताको रक्षा गर्न चनौतीपूर्ण देखिएको छ ।’ उहाँले भन्नुभयो ।
मुलुकको स्वाधिनताको रक्षा गर्न अंगीकार गर्नुपर्ने परराष्ट्र नीति समेत सरकारले अंगिकार गर्न नसकेको र सुशासनको नाममा सरकारले भ्रष्टचारी र कमिशनतन्त्रलाई प्रक्षय दिने काम गरेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष एमपी शर्मा, नेकपा माओवादी केन्द्रका सदस्य रामनारायण बिडारी, केन्द्रीय सदस्य कुमारी मोक्तान, नेकपा माओवादी बागमती प्रदेशका उपाध्यक्ष प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, नेकपा माओवादी मकवानपुरका सचिव बीरबहादुर घलान लगायतको उपस्थिति रहेको थियो ।