सनराइन बोर्डिङमा निःशुल्क स्वास्थ्य शिविरको तस्वीर ।

हेटौंडाः हेटौंडा–१३ स्थित सनराइज बोर्डिङ स्कूलमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । मंगलबार लायन्स क्लब अफ काठमाडौं, ताकेश्वर र लायन्स क्लब अफ काठमाडौं, निलगिरीको संयुक्त आयोजनामा बोर्डिङ परिसरमा निःशुल्क स्वास्थ्य शिविर भएको हो ।

लायन्स क्लबका डिष्ट्रिक गर्भनर टासी डोल्मा तुङ्बाहाम्फेको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ तारकेश्वरका अध्यक्ष रामकुमार श्रेष्ठको सभाध्यक्षमा स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि तुम्बाहाम्फेले मानव विकासका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्थाको रुपमा लायन्स क्लब पर्ने बताउनुभयो । नेपालमा लायन्स क्लबको १५ डिष्ट्रिकमा यो संस्था रहेको उहाँले बताउनुभयो । अमेरिकाको मेरिजोनलमा यो संस्था स्थापना भएको उहाँले बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष श्रेष्ठले मानिसहरुको स्वास्थ्य ठीक भएमा मात्र विभिन्न क्रियाकलाप गर्न सक्ने बताउनुभएको छ । विगतदेखि नै निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गर्दै आएको संस्थाले मानिसहरुलाई सेवा प्रदान गर्नका लागि यसलाई निरन्तरता दिन लागेको उहाँले बताउनुभयो । संस्थाले आज बुधबार निर्मल माध्यमिक विद्यालयमा स्टेशनरी सामान वितरण र जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य शिविरमा रक्तदान कार्यक्रम, उच्च रक्तचाप परीक्षण, मधुमेह परीक्षण, मेन्टल स्वास्थ्य सचेतना, पाठेघर मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण गरिएको छ । रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको उद्घाटन समारोहमा १३ नम्बर वडाका वडाध्यक्ष पेम्बा लामा, विद्यालयका शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो ।