सरकारी पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग हाल चरम आर्थिक संकट झेल्दै लगभग बन्द हुने अवस्थामा पुगेको छ । के हो त आखिर देशकै नमुना उद्योग बन्द हुनुको कारण ? के सम्भावना सकिएकै हो त ? आज चर्चा गरौं । २०३३ सालमा स्थापना भई २०४३ सालबाट संचालनमा आएको उद्योगमा हाल स्थायी, दैनिक ज्यालादारी र सुरक्षाकर्मी समेत गरी दैनिक ३१८ जना कार्यरत छन् । दैनिक १५ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता राख्ने उद्योग हाल मासिक १५ हजार बोरा सिमेन्ट उत्पादन गर्न समेत मुस्किल देखिन्छ ।
मकवानपुर जिल्ला भित्रैको नियमित मागलाई मात्रै हेर्ने हो भने पनि मासिक झण्डै ३ लाख बोरा भन्दा धेरै सिमेन्ट खपत मकवानपुर जिल्ला भित्रै रहँदै आएको छ । यस्तो अवस्थामा उद्योगको स्थानीय बजार हिस्सा ५ प्रतिशत समेत कायम राख्न नसक्दा पश्चिममा दाङदेखि पूर्व मिर्चैयासम्मका निजी उद्योगहरुले सहजै आफ्ना उत्पादन मकवानपुर जिल्ला भित्र उपलब्ध गराइराख्दा पूर्ण सरकारी स्वामित्वमा रहेको उद्योग आफ्ना कर्मचारीलाई तलब खुवाउने पैसा समेत छैन । करोडौं विद्युतको वक्यौता त छँदैछ । नेपाल जस्तो विकासोन्मुख मुलुकमा ठूलो सम्भावना बोकेको सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योग थला पर्नुमा जिम्मेवार को हुन सक्छ त ?
पर्याप्त श्रोत, साधन हुँदा हुँदै पनि उद्योगको यो हालत हुनुमा राजनैतिक भागबण्डामा रमाउने राजनैतिक नेतृत्वनै मुख्य दोषी हो भन्दा अन्यथा नहोला । उद्योगले व्यापार गर्ने हो । व्यापार गर्ने ठाउँमा आफ्ना कार्यकर्ताको भर्तिकेन्द बनाएका राजनैतिक नेतृत्वले कहिले बुझ्लान् ? उद्योग सञ्चालन गर्न उद्योग व्यापार बुझेको, समय अनुकुल रणनीति बनाउँदै उद्योग संचालन गर्ने व्यक्ति चाहिन्छ भनेर । यदि त्यसो हुने हो भने कुनै पनि हालतमा उद्योग घाटामा जाँदैन । देशकै ठूला सिमेन्ट उद्योगहरु सञ्चालानमा रहेको हेटौँडाबाट उत्पादन हुने सिमेन्टले देशभरकै सिमेन्टको मागलाई ठूलो योगदान पुपर्याई प्रत्यक्ष तथा अप्रत्यक्ष हजारौंलाई रोजगारीसहित राजस्वमा समेत ठूलो योगदान पु¥याइरहेको घाम झैं छर्लङ्ग नै छ ।
सिमेन्टको बजारमा हेटौँडाको सिमेन्टको पहिचान निकै राम्रो रहेको पाईन्छ । यस्तो अवस्थामा देशकै पुरानो उद्योग आफ्नो अस्तित्वको लडाई लडिराखेको देख्दा उद्योगसँग प्रत्यक्ष–अप्रत्यक्ष सरोकार राख्ने स्थानीय राजनैतिक दल, बुद्धिजिवि, उद्योगी, व्यवसायी लगायत हामी सबैलाई लाज हुनु पर्ने हो । हेटौँडामै रहेका अन्य उद्योगले गुणस्तरीय चुनढुंगाका लागि अर्घाखाँचीदेखि धनकुटासम्म, नुवाकोटदेखि जोगीमारासम्म पुगेर उद्योगलाई आवश्यक कच्चा पदार्थ जोहो गर्दै गर्दा मुख्य कच्चा पदार्थको धनी हेटौँडा सिमेन्ट उद्योग जससँग उच्च गुणस्तरीय चुनढुंगा खानी छ । मझुवा, भैंसे, ओखरे लगायतका खानीहरु उद्योग परिसर लामसुरेबाट २० किलोमिटर भित्रै पर्छ । आफ्नै खानीबाट गुणस्तरीय चुनढुंगा उत्खनन् गरेर समेत सञ्चालन गर्न नसक्नुमा दोषी को हो ? समयले मूल्याङ्कन गर्ने नै छ ।
गुणस्तरीय चुनढुंगानै बिक्रि गर्ने हो भने पनि वार्षिक करोडौं घाटा बेहोर्दै आएको उद्योगले नवजीवन पाउने देखिन्छ । उद्योगले आफ्ना चुनढुंगा उत्खनन् गरी किलिंकर बनाई बिक्रि गर्ने हो भने पनि प्रचुर सम्भावना देखिन्छ । यति धेरै सम्भावना हुँदा हुँदै किन त यस किसिमको संकट ? उद्योग सञ्चालनमा नीति बाधक हो भने किन त्यसतर्फ ध्यान दिईएन ? सधैं सत्तामा रहने दल सम्वद्ध व्यक्ति नै सञ्चालक समितिको अध्यक्ष भइरहँदा नीतिगत अप्ठेराहरु फुकाउन केहि पहल भए कि भएन ? उद्योग सञ्चालक समितिका अध्यक्षको तर्फबाट यदि पहल हुँदा हुँदै पनि सम्वद्ध दलबाट किन रोकियो जनतासामु छर्लङ्ग पार्नुपर्नेमा खै कता हराउनु भयो ? यदि नीति, नियमनै बाधक हो भने पनि समयसापेक्ष नीति, नियम बनाउँदै उद्योगमा भइरहेको राजनीतिक हस्तक्षेप बन्द गरी उद्योगलाई नवजीवन दिन सकिने अवस्थामा पनि उद्योग बन्द हुनु आफैंमा दुखको कुरा हो ।
अझै पनि उचित निर्णय गरी उद्योग सञ्चालन गर्नै नसक्ने हो भने आउने पिढीले उद्योगसँग प्रत्यक्ष–अप्रत्यक्ष सरोकार राख्नेहरुलाई सराप्ने छन् ख्याल गरौं । हेटौँडा सिमेन्ट उद्योगले कहिलै बजारको अभाव झेल्नुु परेन । देशैभरबाट नगदमा हुने उच्च माग पूरा गर्न नसकेर उद्योग बन्द हुनु भनेको पक्कै राम्रो होइन । उच्च गुणस्तरको कच्चा पदार्थ समेत आफ्नै हुँदा पनि निरन्तर घाटामा जानु, कामदार कर्मचारीको तलब समेत भुक्तान गर्नै हम्मेहम्मे पर्नु, विद्युत महसुल भुक्तान गर्नै नसक्नु जस्ता कुराले गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । त्यसैले देशकै सानको रुपमा रहेको हेटौँडा सिमेन्ट उद्योगको सञ्चालनमा राजनीतिक सोच भन्दा एक कदम माथि उठेर उद्योग सञ्चालन एवम् व्यवस्थापनमा राम्रो ज्ञान भएका, स्थानीय बजारको समेत ज्ञान भएकाहरुबाट उद्योग सञ्चालनको खाकासहित उद्योग सञ्चालनको जिम्मा दिने हो भने उद्योगले छोटो समयमा नै कायापलट गर्ने देखिन्छ । त्यसैले समयमा नै उचित निर्णय गर्न सक्ने विभिन्न निजी उद्योगहरुमा व्यवस्थापकीय जिम्मेवारी समेत निर्वाह गरिसकेका स्थानीय युवालाई मैका दिन सके डुब्दै गरेको हेटौँडा सिमेन्ट उद्योग बचाउन सकिने विश्वास अझै जिवितै रहेको छ ।