तामाङ साँस्कृतिक महोत्सवबारे जानकारी गराउँदै आयोजक ।

हेटौंडा ः हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव–२०८१ हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले आज बिहान पत्रकार सम्मेलनमार्फत “ह्याङलान काअीरन ह्याङलान काअी– जम्बुलिङरी छार्ना लाअी“ भन्ने उद्देश्यले २८६१ डुल सा पुख्री ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा हेटौँडा–१०, टिसिएन चौरमा आउँदो बिहीबार महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको छ ।

निर्माणाधिन तामाङ संग्रहालय भवन निर्माण सहयोगार्थ महोत्सवमा लामा, बोम्बो, ताम्बा डम्फुरे सहितको र्‍याली तथा झाँकी प्रदर्शन, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम हुने बताइएको छ । मकवानपुरे तामाङ कलाकारहरुको प्रस्तुती र तामाङ मौलिक भेषभुषा तथा खानाका परिकारहरु प्रदर्शन हुने नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका सचिव किरनमान बलले जानकारी दिनुभयो ।

मकवानपुर तामाङ कलाकार संघ मकवानपुरको सहआयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवमा कलाकारहरु अभि लामा, अनिता गोले, अनराज तामाङ, विक्रम लुङ्वा, सुजना रुम्बा, साम्तेन मोक्तान, केशर मोक्तान, आशाराम थिङ, बिरु घलान, बालिका तामाङ, अनिता मुक्तान, प्रतिमा घलान, सुरक्षा तामाङ, प्रेमा लोप्चन कलाकारको महोत्सवमा प्रस्तुति रहने उहाँले बताउनुभयो ।