बालमैत्री वडा घोषणासम्बन्धमा जानकारी दिनुहुँदै वडाध्यक्ष ढलकबहादुर थापा ।

हेटौँडा ः माघ १३ गते आइतबार हेटौँडा–३ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । शुक्रबार वडा कार्यालयमा पत्रकार सम्मेलन गरेर वडाध्यक्ष ढलक बहादुर थापाले ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मूलनाराका साथ वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको जानकारी दिनुभयो ।

बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरुमध्ये ४९ वटा सूचकमा शतप्रतिशत, एउटा सूचकमा ९८ प्रतिशत र एउटा सूचकमा १५ प्रतिशत नतिजा हासिल गरेकाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको उहाँले बताउनुभयो । घरधुरी सर्वेक्षण २०७९ अनुसार वडामा ६ हजार ४ सय ४३ जनसंख्या छन् । जसमध्ये ३ हजार १ सय ९७ महिला, ३ हजार २ सय ४६ पुरुष छन् । बालक ७ सय ९३ र बालिका ७ सय ५ गरेर १ हजार ४ सय ९८ छन् बालबालिका छन् ।

सामुदायिक र संस्थागत गरी बाल विकास केन्द्रसहितका ५ वटा विद्यालय सञ्चालनमा रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । यसैगरी १२ बटा बालसमूह र एउटा बाल सञ्जाल रहेको छ । जसमा २ सय बालबालिका आवद्ध रहेको र विभिन्न संरचनागत समितिमा समेत गरेर ३ सय ४१ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । २०७९ मंसिर १३ गते सरोकारवालाको उपस्थितिमा प्रतिवद्धतामा हस्ताक्षर गर्दै बालमैत्री वडा घोषणा अभियान सुरु गरिएको थियोे । हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नका लागि अन्तिम सूचक मापनको प्रतिवेदन, स्थितिपत्र, पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भइसकेको उहाँले जानकारी दिनुभयो ।