हेटौँडा ः नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ महादेवफाटमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजेर ३० मिनेटको समयमा गल्छी त्रिसुली सडकखण्डमा गल्छीतर्फबाट त्रिसुलीतर्फ जाँदै गरेको प्र ३–०६–०१ प ४६४१ नम्बरको मोटरसाइकल र त्रिसुली तर्फबाट गल्छी तर्फ आउदै गरेको बा ८४ प ३८३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा बा ८४ प ३८३६ नम्बरको मोटरसाइकल चालक बेलकोटगढी नगरपालिका–७, रातोमाटेका १८ वर्षीय आयुष अर्याल, प्र.३–०६–०१प ४६४१ नम्बरका चालक सर्लाहीको चक्रघट्टा गाउँपालिका–६ बस्ने २४ वर्षीय बैजु साह र पछाडी सवार धादिङको नेत्रावती गाउँपालिका–२ बस्ने १७ वर्षीया पुर्णिमा तामाङ घाइते भएका थिए । घाइते ३ नै जनालाई उपचारका लागि त्रिसुली अस्पताल लगिएको थियो । घाइते आयुष अर्याललाई सामान्य उपचारका पश्चात थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टर अस्पताल रिफर गरिएको थियो । उपचारको क्रममा राती ९ बजेको समयमा आयुष अर्यालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।