उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्नुहुँदै अनिल अग्रवाल ।

हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अनिल अग्रवाल नेतृत्वको प्यानल घोषणा गरिएको छ । सोमबार साँझ हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा उद्योगी, व्यवसायीको उपस्थितिमा अनिल अग्रवाल नेतृत्वको टिम घोषणा गरिएको हो ।

आफू नेतृत्वको प्यानल घोषणा सभालाई सम्बोधन गर्नुहुँदै अनिल अग्रवालले अध्यक्षमा आफ्नो पालो भएको दावी गर्नुभयो । यसअघि पनि वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्षको रुपमा प्रस्तुत गरेर निर्वाचित गरिँदै आएको उल्लेख गर्नुहुँदै वर्तमान समितिको आफू वरिष्ठ उपाध्यक्ष रहेको र सोही अनुरुप आफ्नो अध्यक्षको पालो भएको अग्रवालको दावी रहेको छ । उम्मेदवारी घोषणा सभामा पूर्वअध्यक्ष सहभागी नभएको भन्दै अग्रवालको गुनासो गर्नुभयो । घोषणा सभामा पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठ र राजकुमार न्यौपाने मात्रै सहभागी हुनुहुन्थ्यो ।

१८ बुँदे घोषणापत्र जारी गर्नुहुँदै अग्रवालले व्यवसायीको सबैभन्दा बढी समस्या कर नीति र बजार अनुगमनको रहेको उल्लेख गर्नुहुँदै तालिम, गोष्ठी र सेमीनार आयोजना गरेर व्यवसायीलाई सचेत बनाउँदै दण्ड, जरिवाना तिर्नु नपर्ने बनाउने बताउनुभयो । व्यवसायी, उद्योगीको समस्याका बेला तत्काल उपस्थित हुने टिम तयार पारिएको जानकारी दिनुहुँदै अग्रवालले भन्नुभयो, ‘हामीले डाइनामिक टिम तयार पारेका छौं । नाम मात्रैको व्यावसायिक फर्मवाला व्यवसायी, उद्योगी आफ्नो टिममा छैन ।’ विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न मासिक एक लाख रुपैयाँका दरले कोषमा रकम थप गर्ने, चित्रेपानीको २ हजार रोपनी जग्गालाई नयाँ औद्योगिक क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने, महिला उद्यमी, व्यवसायीले समान अधिकार पाउने गरी निर्देशिका तयार पारेर लागु गर्ने पनि अग्रवालले घोषणा गर्नुभएको छ ।

अग्रवाल नेतृत्वको प्यानलमा उपाध्यक्ष वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ रविन्द्रप्रसाद घिमिरे, एसोसिएटतर्फ विष्णु खनाल, वस्तुगततर्फ काव्यमणि अधिकारीलाई उम्मेदवार घोषणा गरिएको छ । अग्रवाल प्यानलमा महासचिवमा विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी, सहकोषाध्यक्षमा राधिका सामरी पाण्डे, सचिवमा वाणिज्यतर्फ दिवस पराजुली र वस्तुगततर्फ नेत्रप्रसाद खतिवडालाई उम्मेदवार बनाउने घोषणा गरिएको छ । सदस्यमा वाणिज्यतर्फ रविन ढकाल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, यज्ञबहादुर राय, वाणिज्य महिला आरक्षणतर्फ निलम पाण्डे, उद्योगतर्फ कृष्णगोपाल महर्जन, दीपक सिवकोटी, गंगाकुमारी श्रेष्ठ, उद्योगतर्फ महिला आरक्षण सदस्यमा मेनका श्रेष्ठ र वस्तुगत सदस्यतर्फ शम्भु पुडासैनी उम्मेद्वार रहने घोषणा गरिएको छ ।