प्रदेश लिग फुटबलको उपाधि साथ काठमाडौंको चित्लाङ फुटबल क्लब ।

हेटौंडाः दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको चित्लाङ फुटबल क्लबले जितेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सम्पन्न भएको फाइनल खेलमा दोलखाको टाइगर टिम तिखाताललाई ३–० गोलले हराउँदै काठमाडौंको चित्लाङ फुटबल क्लबले उपाधि जितेको हो ।

उपाधि जितेसँगै काठमाडौंको चित्लाङ फुटबल क्लबले दुई लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता दोलखाको टाइगर टिम तिखातालले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । बागमती प्रदेश फुटबल संघका कार्यवाहक अध्यक्ष राजीवमान बस्नेतको सभाध्यक्षता तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष पंकजविक्रम नेम्वाङको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको हो ।

काठमाडौंको जीतमा पहिलो हाफको २५ मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । दोस्रो हाफको ७४ मिनेटमा सुजित बुढाथोकीले अर्को गोल थप्दै अग्रतालाई बढाएका थिए । २–० गोलले पछि परेको दोलखाको टाइगर टिम तिखातालविरुद्धको खेलको अन्तिम समयमा काठमाडौंका आयुष कुँवरले एक गोल थप्दै टिमलाई जीत दिलाएका हुन् । म्यान अफ म्याच सुजित बुढाथोकी घोषित भएका छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै चित्लाङ फुटबल क्लबका सुजित बुढाथोकीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै, प्रतियोगिताको हाइ स्कोर चित्लाङकै सुजित बुढाथोकी, उत्कृष्ट गोलरक्षक चित्लाङका चन्द्रशेखर श्रेष्ठ, उत्कृष्ट डिफेन्डर चित्लाङका जनक कोइराला, उत्कृष्ठ मिडफिल्डर चित्लाङका विज्ञान खड्का, उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी र उत्कृष्ट कोच चित्लाङका रुपेश क्षेत्री घोषित हुँदै जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

बागमती प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लाको लिग विजेता फुटबल क्लबको प्रतियोगितामा सहभागिता रहेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको प्रमुख सहयोगमा सम्पन्न भएको प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लुअल्पाइन क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने काठमाडौंको चित्लाङ फुटबल क्लबले बिहीबारको सेमिफाइनल खेलमा ललितपुर फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।