हेटौँडा ः नेपालमा कानुन निर्माण र कार्यान्वयनको अवस्था कमजोर रहेको बताइएको छ । मानव अधिकार सम्बन्धी कानुनहरु निर्माण भएपनि कार्यान्वयनमा राज्यको कमजोरी रहेको बताइएको छ ।
हेटौँडामा मंगलबार आयोजित मानव अधिकारको अवस्था विषयक मिडिया साझेदारी बैठकका सहभागीहरुले राज्यका संरचनाहरु जिम्मेवार बन्न नसक्दा मानव अधिकारका विषय चुनौतिपूर्ण बनिरहेको बताएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजना तथा पत्रकार महासंघ मकवानपुरको सहकार्यमा भएको बैठकमा सहभागीहरुले संविधानले व्यवस्था गरेको मौलिक र आधारभूत अधिकारसमेत उपभोगमा समस्या भइरहेको बताएका थिए । उनीहरुका अनुसार मानव अधिकारका क्षेत्रमा नीति, नियम बने तापनि कार्यान्वयन पाटो फितलो रहेको छ ।
प्रविधिको प्रयोगले मानव अधिाकरका घटना बढाउनुको साथै सुरक्षाको हिसाबले पनि निकै चुनौति थपिएको सहभागीको भनाइ थियो । पछिल्लो समय सामाजिक सञ्जालका कारण बालबालिका शोषणमा पर्ने गरेको र अनलाइन बाल संरक्षणको विषय उठान गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । दूरदराजमा भएका मानव अधिकार हननका विषयलाई उठान गर्न नसकिएको सहभागीहरुको भनाई थियो । मानव अधिकार स्थापित गराउन पत्रकारको भूमिका अहम् हुने उल्लेख गर्दै मिडिया क्षेत्रमा सम्पादकीय स्वतन्त्रता कमजोर बन्दै गएको उनीहरुको भनाई थियो ।
इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीको अध्यक्षतामा बसेको बैठकमा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष हरि हुँमागाई, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला कार्यसमितिका पदाधिकारी तथ सदस्यहरु, पत्रकार प्रताप विष्ट, सुरेश श्रेष्ठ, मकवानपुर जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष अप्सरा बस्नेत, सिविन नेपालका संयोजक झविन्द्र ज्ञवाली, बालकल्याण समाज मकवानपुरका प्रकाश खतिवडा, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।