हेटौँडाः हेटौँडा–४ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारणसभा शनिबार हेटौँडामा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष आयुष डोटेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा सहकारीको साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सहकारीको आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा सहकारीको सेयर सदस्य ६ हजार ७ सय २१ जना रहेको छ । सहकारीप्रति व्यापक आशंका बढिरहेका बेला सगरमाथामा भने सेयर सदस्यको वृद्धिदर उच्च रहेको छ । अघिल्लो आर्थिक वर्षमा ५ हजार ६ सय ३ जना सेयर सदस्य रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा १ हजार १ सयको संख्यामा नयाँ सेयर सदस्य थपिएको हो । अघिल्लो आर्थिक वर्षको तुलना २० लाख रुपैयाँ बढेर सहकारीको सेयर पुँजी २ करोड ७९ लाख ५७ हजार रुपैयाँ रहेको छ भने बचत २० करोड ७१ लाख १४ हजार रुपैयाँ रहँदा ऋण लगानी १८ करोड ९७ लाख ३६ हजार रुपैयाँ रहेको छ । सहकारीको साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणी, कर्मचारीलाई सम्मान समेत गरेको छ ।
यसैबीच सहकारीले वार्षिक साधारणसभाको अवसरमा हेटौँडा–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणीधाममा वृक्षरोपण गरेको छ । धार्मिकस्थलमा अमला, निमलगायत जडिबुट्टीजन्य वृक्ष रोप्नुका साथै बिरुवालाई हुर्काउने जिम्मेवारी पनि पूरा गरिने अध्यक्ष आयुष डोटेलले जानकारी दिनुभयो । उहाँका अनुसार वृक्षरोपण कार्यक्रममा लायन्स क्लबसँग समेत सहकार्य गरिएको छ ।