Home मुख्य समाचार विद्यालय शिक्षा ऐनले विद्यमान शैक्षिक अन्यौलताको अन्त्य गर्ने अपेक्षा

विद्यालय शिक्षा ऐनले विद्यमान शैक्षिक अन्यौलताको अन्त्य गर्ने अपेक्षा

रमेशप्रसाद लामिछाने

१. शिक्षा ऐनको चर्चाले हाल हाम्रो शैक्षिक जगत आकर्षित भएको छ । स्वभाविक पनि हो । वि.सं. २०२८ सालमा बनेको शिक्षा ऐनबाटै आधा शताब्दी भन्दा बढि हाम्रो विद्यालय शिक्षा संंचालन भइरहेको छ भन्नुपर्दा लज्जित बन्नु परेको छ । यद्यपि, यस अवधिमा उक्त ऐनलाई दर्जन भन्दा बढी पटक फेरबदल र टालटुल गर्दै काम चलाउँदै आएको तथ्य स्पष्ट छ । आयोग बन्नु र प्रतिवेदन पेश गर्ने काम प्रत्येक सरकारको रुटिनमा पर्दै आएको छ । नयाँ निर्देशिका जारी गर्नु हरेक शिक्षा मन्त्रीको पहिलो काम बन्दै आएको छ । शिक्षा विधेयक संसदमा पेश भएको यो पहिलो पटक भने होईन । यसअघि पनि संसदमा शिक्षा विधेयक प्रस्तुत हुने र छलफलको क्रमसम्म पुग्दै तुहिंदै आएको यथार्थ धेरैलाई याद हुनु पर्दछ । अहिले पनि शिक्षा ऐन आउनेमा शंका कायमै छ । अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सने उखान हामीले सुन्दै आएका छौं । हाल शिक्षा विधेयक प्रदेश भ्रमणमा गएको समाचार बाहिर आएको छ । संसदीय समितिबाट रहर पुगेपछि यो बाहिर आएको हो । सुझाव संकलन गर्ने काम आफैंमा उपयुक्त भन्नै पर्दछ । औपचारिकताका लागि हो भने यो समय बर्बादी बाहेक केहि नहुन सक्छ । यदि शिक्षा ऐन ल्याउन खोजेकै हो भने यी कोणहरुबाट पनि त निचोडमा पुग्न सकिन्छ नि ।

२. राज्यको दृष्टिकोण–हामीले बुझेको राज्य भनेकै सरकार हो, जनमतको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा हो, राजनीतिक दलहरु हुन्, नागरिक समाज हो, देश हो, निश्चित भूगोल हो, यहाँका जनता हुन् र यो राष्ट्र हो । इतिहास अनुभवको श्रोत हो । बिगतबाट सिक्ने हो । राम्रा र असलको निरन्तरता अनि बिग्रेका र गलतको अन्त्य गर्नै पर्छ । सुधारको पनि त हद हुन्छ होला नि । वर्तमानको विश्लेषण गर्ने हो । हाम्रा अवस्था, साधन, श्रोत, क्षमता र दक्षताको वास्तविक आँकलन महत्वपूर्ण सवाल हो । भविष्यको योजना निर्माण गर्ने हो । शिक्षा के हो र किन आवश्यक छ ? राष्ट्रिय आवश्यकताको सही पहिचान राज्यले गर्नै पर्छ । नागरिकका चाहना राम्ररी बुझ्नै पर्दछ । यस मुलुकमा आवश्यक शिक्षा कस्तो हो ? साधारण कि प्राविधिक ? कि दुबै ? रोजगारमूलक, सीपमूलक, प्रयोगात्मक, व्यवहारिक, वैज्ञानिक, प्रगतिशील जस्ता कुनै पनि नामको गन्तव्य एकै हो भन्नेमा पनि बिमति छैन । शिक्षाको उद्देश्य के–के राख्ने हो भन्दा पनि के–के हुनुपर्छ भन्नेमा बहस हुनुपर्छ ।

हाम्रो शैक्षिक गन्तव्य स्पष्ट देखिने र बुझिने हुनै पर्दछ । विद्यमान अन्यौलता र बिलम्बपनको पर्दा हट्नै पर्दछ । दृष्टिकोणमा मुलुकको स्वार्थ जोडिनै पर्दछ । अरुको स्वार्थको पुच्छर बनेर शैक्षिक नीति सहि बन्नै सक्दैन । नीजि क्षेत्रले के भन्ला वा उनीहरु रिसाउने पो हुन् कि भनेर पर्खेर देशको संविधानको बिपरित जाने त ? वर्तमान संविधानले आधारभूत शिक्षा अनिवार्य र निशुल्क अनि माध्यमिक शिक्षालाई निशुल्क भन्दै स्थानिय तहमा जिम्मा लगाएको त सबैलाई थाहा छ । कि त संविधान बदलेर मात्र शिक्षा ऐन बनाउनु पर्यो, होइन भने यी सबै कायम राखेर संविधानसँग नबाझिने गरी शिक्षा ऐन ल्याउनमा सरकारी अलमलको आशय के हुन सक्छ त ? हरेकले आफ्नो कचिया आफैंतिर तान्ने हो । निर्वाचनमा प्रस्तुत गरिएका घोषणापत्र पल्टाएर हेर्ने जमर्को गरिएमा धेरै कुरा हल गर्न सकिन्न र ?

३. शिक्षक कर्मचारीको सम्बोधन– शिक्षामा शिक्षक कर्मचारी व्यवस्थापन महत्वपूर्ण सवाल हो । शिक्षक कर्मचारीका समस्या हल गर्न भन्दै विगतमा बनाइएका दर्जनौं आयोगले दिएका सुझावहरु र शिक्षक कर्मचारीसँग गरिएका दर्जनौं सम्झौताहरु नै शिक्षक कर्मचारीका समस्या हल गर्न पर्याप्त छन् भन्ने लाग्छ । जनशक्तिको प्रभावकारी व्यवस्थापन बिना शिक्षामा सुधारको कल्पना नै गर्न सकिन्न । पेशागत स्थायित्व र वृत्ति विकाससँग जोडिएका जनशक्तिलाई सधैं आश मात्र देखाएर टार्न सकिन्न । भूगोल र जनसंख्याका आधारमा विद्यालयको नक्साङ्कन र विद्यालय, कक्षा, तहसँगै विषयगत शिक्षक व्यवस्था गर्न कठिन छैन । नियत सकारात्मक हुनुपर्छ ।

विद्यालयमा लेखा, प्रशासन, कार्यालय सहायक कर्मचारी लगायतका आवश्यक जनशक्तिको व्यवस्थापन बारे शिक्षा ऐनले बोल्नै पर्दछ । यी जनशक्तिको पेशागत स्थायित्व र वृत्ति विकासका सवालमा किटानी व्यवस्था नै हुनुपर्दछ । करार तथा अस्थायी प्रकृतिका जनशक्तिबाट काम चलाउ अर्थात तदर्थ स्थितिको अन्त्य गरिनु पर्दछ । शिक्षा प्रशासनमा पनि व्यापक सुधारको जरुरी देखिएको छ । प्रोत्साहन र दण्ड व्यवहारमै देखाउनु पर्दछ । स्थानीय तहमा आवश्यक पर्ने तर काम नपाएर दिन काट्ने जनशक्तिलाई सिंहदरबारबाट बाहिर ल्याउनै पर्छ । अधिकृत, उपसचिव, सहसचिवस्तरका जनशक्ति जिम्मेवारीबिहिन बनाएर राज्यले पालिरहने काम कुनै पनि कोणबाट ठीक भन्न सकिन्न । खास मापदण्डका आधारमा शिक्षकलाई शिक्षा प्रशासनमा जान सक्ने अवस्था बनाउँदा राम्रो हुन्छ ।

४. शैक्षिक पुनर्संरचना– यो शिक्षा ऐनमा समेट्नै पर्ने अर्को महत्वपूर्ण सवाल हो । विद्यमान संरचना बदल्नै पर्छ भन्ने आवाज अधिक उठेको छ । सर्वप्रथमतः सरकारी, सामुदायिक, सहकारी र नीजि गरी ४ प्रकारका शिक्षण संस्थाहरु व्यवस्था गर्नुपर्ने देखिएको छ । त्यस्तै हालको दुई तहलाई पूर्व प्राथमिक दुई वर्षे, प्राथमिक पाँच वर्षे, आधारभूत तह तीन वर्षे, माध्यमिक दुई वर्षे र उच्च माध्यमिक दुई वर्षे गरी पाँच तहका बनाउनु उपयुक्त देखिन्छ । स्थानीय तह, जिल्लामा, प्रदेश र केन्द्रिय तहमा गरी चारै शैक्षिक संयन्त्र अधिकार सम्पन्न बनाई यी अन्तर्गत नै प्राविधिक शिक्षा संचालन गर्नु राम्रो हुन्छ । सिटिईभिटिलाई अलग राखिरहन जरुरी देखिँंदैन । परीक्षा बोर्डलाई स्वायत्त संस्था बनाउँदै थप प्रभावकारिताका लागि पुनर्गठित गरिनु जरुरी हुन्छ । विद्यार्थी मूल्याङ्कनका मापदण्डहरु थप फराकिलो बनाउनु आवश्यक छ । हालको परीक्षा प्रणालीमा पर्याप्त फेरबदल नगर्ने हो भने विद्यार्थीको भविष्य थप संकटमा पर्न सक्छ । पाठ्यक्रम परिमार्जनका लागि हालको पाठ्यक्रम विकास केन्द्रमा शिक्षा विज्ञहरुको चौतारी थप्नु राम्रो हुन्छ ।

५. अन्तमा, सुझावहरुको फेहरिस्त लामो बन्न सक्छ । जतिसुकै मच्चिए पनि पूर्णता हुने होईन । अनेकौं व्यक्ति र संस्थाबाट शिक्षा ऐन त यस्तो पो बन्नु पर्छ भन्दै सुझाव र सल्लाहको ओईरो नै लागेको मौसममा यो पनि समुद्रमा थोपा थपिएको हो । साँच्चीपर्दा एकथान शिक्षा ऐन बनाउन नसकिने भन्ने होईन । वर्तमानका शैक्षिक समस्याहरुको प्राथमिकीकरण र हाल सकिने समाधान दिनु नै पहिलो काम देखिन सक्छ । आवश्यकताले क्रमैसँग बदल्दै लाने हो । दक्षिण एशिया मात्र हैन, विश्व भूमण्डलीकरणमा देखिएको शिक्षा व्यवस्थासँगै प्रविधिको अधिकतम प्रयोगलाई नजरअन्दाज भने गर्न मिल्दैन । नियत र दृष्टिकोण सकारात्मक भएमा विद्यमान शैक्षिक अस्तव्यस्तता हल हुने विश्वास गर्न सकिन्छ । लगाव र चासो यो ऐन सँगै जोडिएको अर्को पक्ष हो । भनाई र गराईमा व्यापक फरक हुन्छ नै । सम्बन्धित पक्ष र निकायले आउँदा दिनहरुमा यहि विषयमा समय खर्चेर आलोचना सहने स्थिति नबनोस भन्ने अपेक्षा गरिएको छ ।

Exit mobile version