हेटौँडा ः गत शुक्रबार हेटौंडा-१८, हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालयले ५८ औं विद्यालय दिवस मनाएको छ । साताव्यापी कार्यक्रम आयोजना गर्दै दिवस मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षता तथा वडाध्यक्ष अनिल कुमार बानियाँको प्रमुख आतिथ्यमा दिवस मनाइएको हो ।
दिवसमा राप्ती डेन्टल क्लिनिकका दन्त स्वास्थ्य विशेषज्ञको प्राविधिक सहयोगमा दन्त शिविर आयोजना गरिएको छ । शिविरमा शिक्षक, विद्यार्थी, अभिभावकहरुले निशुल्क दन्त परीक्षण गराएका थिए । उत्कृष्ट नतिजा हासिल गराउन सफल शिक्षकलाई सम्मानित गरिएको छ । लायन्स क्लब अफ काठमाडौं, बुद्धनगरले विपन्न, जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । वार्षिकोत्सव समारोहमा विद्यार्थीले नृत्य, गायन, उद्घोषण कला समेत प्रस्तुत गरेका थिए ।
विद्यालय दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा विजेता विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ । शैक्षिक सत्र २०८० मा कक्षागत प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री प्रदान गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख कृष्ण घिमिरे, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. प्रदीप ज्ञवाली, डिन दुर्गा कुमारी खड्का मिश्र, सहायक प्राध्यापक सुपेन्द्र कार्की, लायन्स क्लब अफ काठमाडौंको समूह, राप्ती डेन्टल क्लिनिकका डाक्टर लगायतको उपस्थिति रहेको थियो ।