इन्क्युवेशन सेन्टर उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामा ।

हेटौँडा ः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शैक्षिक पाठ्यक्रम समयानुकुल परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । उहाँले हाल कायम रहेको पाठ्यक्रमले प्रभावकारी रुपमा व्यावसायिक जनशक्ति उत्पादन गर्न नसकेको बताउनुभयो ।

शुक्रबार मकवानपुर बहुमुखी क्याम्पसको व्यवसाय इन्क्युवेशन सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले बजारको माग अनुसारको व्यावसायिक तथा दक्ष जनशक्ति उत्पादनमा शिक्षालाई जोड्न आवश्यक रहेको बताउनुभयो । व्यावसायिक र व्यवहारिक शिक्षासहित बजारको माग अनुुसारको जनशक्ति उत्पादनमा अग्रसर हुन जरुरी रहेको उहाँको भनाई छ ।

उहाँका अनुसार औद्योगिक क्षेत्रसँग समन्वय गरेर अध्ययन अध्यापनको मोडल निर्माण गर्नुपर्छ । उक्त कार्यमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले विद्यार्थी पलायन अहिलेकै गतिमा हुने हो भने निकट भविष्यमा नेपाल वृद्धाश्रमको देश बन्ने बताउनुभयो । उहाँले विद्यार्थी पलायनलाई रोक्न व्यवसाय इन्क्युवेशन सेन्टरले सहयोग गर्ने बताउनुभयो । विद्यार्थीलाई लगनशील रुपमा उत्पादनमा जोड्दै व्यवहारिक शिक्षामा जोड्नु पर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । नेपालमा केही हुन्न भन्ने भाष्यलाई चिर्न सरकारले शिक्षालाई व्यवहारिक बनाउन जरुरी रहेको उहाँले बताउनुभयो ।

क्याम्पसले विद्यार्थीको समष्टिगत विकासका लागि उक्त व्यवसाय इन्क्युवेशन सेन्टरको स्थापना गरेको क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले जानकारी दिनुभयो । विद्यार्थीको ज्ञान, सीप, क्षमता र सिकाईलाई व्यावसायिक रुपमा अघि बढाउन सेन्टरले भूमिका खेल्ने उहाँले विश्वस व्यक्त गर्नुभयो । विद्यार्थीमा नवप्रवर्तन प्रतिको लगाव बढाउने, व्यावसायिक सोच तथा मनस्थितिको विकास, पेशा, व्यावसायिक अभिरुचि अभिवृद्धि गरेर उद्यमशीलता र रोजगारीको अवसर सृजना गर्नु सेन्टरको प्रमुख द्येय रहेको उहाँको भनाई छ ।