हेटौंडाः हेटौंडा–४, कमलडाँडास्थित रोशनी पुस्तकालय आइतबारबाट सुचारु भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन घोषणा भएसँगै पुस्तकालय बन्द गरिएको थियो । लकडाउन खुकुलो हुँदै जनजीवन सहज भएपछि आइतबारबाट पुस्तकालय सुचारु भएको हो ।
पुस्तकालयमा दैनिक २५ देखि ३० जनाको संख्यामा पत्रपत्रिका तथा पाठ्यपुस्तक पढ्न आउने गरेका पुस्तकालयका अध्यक्ष संगीत श्रेष्ठले जानकारी दिनुभयो । पुस्तकालय स्थापना तथा सञ्चालन नगर्दा नगरमा पठन संस्कृति कमजोर छ । नगरमा पठन संस्कृतिको विकासका लागि हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा सबै वडामा एक एक वटा पुस्तकालय स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ नीति, कार्यक्रम तथा बजेटमै हेटौंडा उपमहानगरपालिकाले हरेक वडामा समुदायको सहभागितामा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ ।