Home मुख्य समाचार शिक्षक केबल पाठ पढाउने मात्र होइन

शिक्षक केबल पाठ पढाउने मात्र होइन

(रिमाल हेटौँडा–४ स्थित नवोदय शिशु सदनका शिक्षक हुनुहुन्छ ।)
सिएम रिमाल

शिक्षक भनेको केवल पाठ पढाउने व्यक्ति होइन ऊ त विद्यार्थीको मनोभावना र मानसिक अवस्थाको गहिरो अध्ययन गर्ने र बुझ्न सक्षम हुने एक संवेदनशील मार्गदर्शक हो । शिक्षण केवल ज्ञान सन्देश प्रवाह गर्ने क्रियावली मात्र होइन यसले त विद्यार्थीको भावनात्मक र मानसिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्दछ । यस दृष्टिकोणले गर्दा यदि शिक्षक विद्यार्थीको मनोभावना बुझ्न असमर्थ हुन्छ भने उसले वास्तविक शिक्षकका रूपमा कार्य गर्न सक्दैन ।

शिक्षकको काम केबल पाठ्यक्रम पूरा गर्नु मात्र होइनः विद्यार्थीलाई एक सन्देश दिनु हो जुन उनीहरूको जीवनमा स्थायी प्रभाव छोडोस् । यसका लागि शिक्षकले विद्यार्थीको मनोभावना र मानसिक अवस्थालाई गहिरो रूपमा बुझ्न आवश्यक छ । विद्यार्थीहरूको मनोविज्ञानसँग सम्बन्धित अनेकौं कारकहरू जस्तै व्यक्तिगत पृष्ठभूमि, पारिवारिक अवस्थिति, मित्रसँगको सम्बन्ध, शैक्षिक अवस्थिति र समाजमा भएका घटनाहरूले विद्यार्थीको मानसिकता र अभिवृत्तिमा ठूलो भूमिका खेल्दछ । यदि शिक्षक यी सबै पक्षहरूलाई नबुझी पढाइमा मात्र ध्यान केन्द्रित गर्छ भने ऊ विद्यार्थीलाई पूर्ण रूपमा समर्पण गर्न र उनीहरूको मानसिक अवस्थासँग सहकार्य गर्न असमर्थ छैन भन्ने कुरा बुझे हुन्छ ।

मानव समाजका हरेक सदस्यको व्यक्तिगत र सामाजिक विकासमा शिक्षकको योगदान महत्वपूर्ण छ यद्यपि शिक्षकका रूपमा काम गर्दा यदि शिक्षकले केवल पाठ्यक्रमका विषयमा मात्र केन्द्रित रह्यो भने शिक्षकले विद्यार्थीको आन्तरिक दृष्टिकोणलाई उपेक्षा गरेका हो भन्ने मान्न सकिन्छ । विद्यालयको वातावरणमा विद्यार्थीले सिक्ने मात्र होइन, उनीहरूले आफ्नो भावनात्मक, मानसिक र सामाजिक अवस्थासमेत विकसित गर्न सक्छन् । यसका लागि, शिक्षकले विद्यार्थीको मनोविज्ञानलाई बुझ्न जरुरी छ ।

शिक्षकको भूमिका भनेको पाठ्यक्रमलाई राम्रोसँग बुझाउन र विद्यार्थीलाई कक्षामा प्रस्तुत गर्न मात्रै होइन, यो विद्यार्थीको भावना र मानसिकताको हेरचाह गर्नु पनि हो । विद्यार्थीले एक पाठमा मात्र जस्तो कि गणित, विज्ञान वा भाषा मात्र होइन, आफ्नो भावनात्मक र सामाजिक विकासका लागि पनि शिक्षकको मार्गदर्शनको आवश्यकता हुन्छ । जब एक विद्यार्थी शैक्षिक दृष्टिकोणबाट कमजोर हुन्छ भने शिक्षकले मात्र उसलाई अझ बढी पाठ्यवस्तुमा ध्यान केन्द्रित गराउनको प्रयास नगरेर उसको मानसिक अवस्थालाई बुझेर सहारा दिनु पर्दछ ।

शिक्षकलाई मानसिकता र मनोविज्ञानका आधारभूत सिद्धान्तहरूको जानकारी हुनु अत्यन्त महत्वपूर्ण छ । यदि शिक्षकले विद्यार्थीको व्यवहार र प्रतिक्रियाहरूको मनोविज्ञानलाई नबुझी मात्र पाठ्यवस्तुमा ध्यान केन्द्रित गर्छ तब ऊ त्यो विद्यार्थीसँग कुनै पनि प्रभावकारी शिक्षण अनुभव उत्पन्न गर्न असमर्थ हुन्छ । शिक्षाविद्हरूले समेत यसबारेमा छलफल गरेका छन् कि शिक्षणका क्षेत्रहरू केवल शैक्षिक ज्ञानको मात्र होइन, विद्यार्थीको सामाजिक र भावनात्मक पक्षलाई बुझ्न आवश्यक छ ।

कुनै पनि विद्यार्थीले कक्षामा राम्रो प्रदर्शन गर्नुको पछाडि उसको परिवारको परिस्थिति, साथीहरूको प्रभाव, विद्यालयको वातावरण र व्यक्तिगत स्वभाव लगायतका अनेकौं कारणहरू पर्न सक्छन् । यदि शिक्षक यी पक्षहरूलाई नबुझी विद्यार्थीलाई मात्र ज्ञान दिन खोज्छ भने त्यो शिक्षकको शिक्षण शैली कमजोर छ भनेर बुझे हुन्छ । शिक्षणका क्रममा शिक्षकको उद्देश्य केवल पाठ्यवस्तुलाई बुझाउनु मात्र होइन, विद्यार्थीलाई मानसिक र भावनात्मक समर्थन दिनु पनि हो ।

जब विद्यार्थी भावनात्मक दबाबमा हुन्छन्, जस्तै घरको अवस्थिति, परीक्षा दवाव वा सामाजिक समस्याहरू त्यो समयमा शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । शिक्षकले विद्यार्थीको मनोभावनामा भएको उतारचढावलाई बुझेर उसलाई उपयुक्त समाधान र सहारा दिनुपर्ने हुन्छ । शिक्षकले विद्यार्थीसँग मित्रवत् र सहज सम्बन्ध राख्दा विद्यार्थी आफ्नो भावनात्मक अवस्थालाई साझा गर्न सजिलो महसुस गर्छ र यसरी विद्यार्थीको शिक्षा पनि प्रभावकारी बन्छ ।

विद्यार्थीको भावनात्मक र मानसिक स्वास्थ्यको अवस्थामा शिक्षकले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । यदि शिक्षक भावनात्मक रूपमा संवेदनशील र सजग छ भने विद्यार्थीले आफूलाई सुरक्षित र सम्झिने महसुस गर्दछ । यसले विद्यार्थीको आत्मविश्वास र आत्मसम्मानलाई पनि वृद्धिका रूपमा असर पु¥याउँछ । यस्तो अवस्थामा शिक्षकको कार्य केवल पाठ्यवस्तु पढाउनु मात्र होइन विद्यार्थीलाई जीवनका विभिन्न समस्याहरू र चुनौतीहरूको सामना गर्ने क्षमता प्रदान गर्नु पनि हो ।

शिक्षा समाजको दर्पण हो र समाजका समस्याहरू पनि शिक्षा प्रणालीमा प्रकट हुन्छन् । यदि समाजमा असमानता, भेदभाव, हिंसा वा अन्य कुनै नकरात्मक तत्वहरू छन् भने ती समाजका विद्यार्थीको मानसिकता र मनोभावनामा असर पु¥याउँछन् । शिक्षकको जिम्मेवारी यस अवस्थामा विद्यार्थीको मानसिक अवस्थालाई बुझेर र समाजका विकृतिहरूसँग सामञ्जस्य राखेर उनीलाई शिक्षा प्रदान गर्नु हो । शिक्षकले विद्यार्थीको समस्याहरूलाई केवल एउटा अस्थायी अवस्था नसम्झी दीर्घकालिक समाधानको दृष्टिकोणबाट हेरिनु पर्दछ ।

यसरी भन्न सकिन्छ कि शिक्षकको कार्य केवल शैक्षिक ज्ञान प्रदान गर्नु मात्र होइन, विद्यार्थीको मानसिक र भावनात्मक अवस्थालाई पनि बुझ्नु हो । विद्यार्थीको मनोभावना बुझ्न शिक्षकको गहिरो अध्ययन र संवेदनशीलता आवश्यक छ । यदि शिक्षकले विद्यार्थीको मनोभावनालाई बुझ्न सक्दैन भने उसले सम्पूर्ण शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन सक्षम हुँदैन । यसले शिक्षा प्रणालीमा बाधा पुर्‍याउँछ र विद्यार्थीको पूर्ण विकासमा अड्चन ल्याउँछ । शिक्षकको असली भूमिका तब मात्र पूरा हुन्छ जब ऊ केवल पाठ्यवस्तुको शिक्षणमा मात्र सीमित हुँदैन । उसले विद्यार्थीको मानसिक, भावनात्मक र सामाजिक पक्षमा पनि योगदान पु¥याएमा मात्र शिक्षक एक देशको मेरुदण्ड तथा अभिन्न अङ्ग हो भनेर भन्न हामी हिचकिचाइ रहनुपर्दैन ।

Exit mobile version