व्यवस्थापन समिति चयनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा–१, चाइनाक्वाटरस्थित अमर माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा जानकी गिरी सर्वसम्मत चयन हुनुभएको छ । बिहीबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले गिरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । गिरी अमर माध्यमिक विद्यालय व्यवस्थापन समितिको पहिलो महिला अध्यक्ष समेत हुनुहुन्छ ।

गत मंसीर २१ गते विद्यालयको ३२ औं अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको सदस्यमा ४ जना सर्वसम्मत चयन हुनुभएको थियो । अभिभावक भेलाबाट धनबहादुर तामाङ, शर्मिला अधिकारी, बसन्त अर्याल र विमला थापा सर्वसम्मत सदस्य चयन हुनुभएको थियो । अमर माध्यमिक विद्यालयकी प्रधानाध्याक मालती उप्रेतीका अनुसार सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकबाट चन्दादातातर्फ जानकी गिरी र शिक्षासेवीतर्फ रामकुमार बर्तौलालाई विद्यालय व्यवस्थापन समितिको सदस्य चयन गरिएको थियो । बर्तौला विद्यालयका पूर्वप्रधानाध्यापक समेत हुनुहुन्छ ।

गत वर्ष फागुनमा नै विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति गठन गर्नुपर्ने थियो । अभिभावक भेला ढिला गरी हुँदा नयाँ समिति गठन हुन सकेको थिएन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षसहित ९ कार्यसमिति सर्वसम्मत चयन भएसँगै कार्यसमितिले पूर्णता पाएको छ ।