भद्रअवधि आन्दोलन गरिरहेका समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिका अध्यक्ष नेत्र चापागाईँ ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्यचोक बुद्धचोकमा ‘सार्वजनिक शिक्षा बदल्न सोच र स्रोत दुबै बदलौं’ भन्दै भद्रअवधि आन्दोलन गरिएको छ । डिजेल, पेट्रोलको मुल्यदेखि क्याम्पसले शैक्षिक शुल्क बढाएको भन्दै नाराबाजीसहित आन्दोलन र दीपप्रज्ज्वलन हुने स्थल बुद्धचोकमा आज फरक दृश्य देखियो । कसैलाई पनि आन्दोलनले अप्ठ्यारो नपरोस् भन्दै एक युवकले १५ सुत्रीय मागसहित भद्रअवधि आन्दोलन गरिरहनुभएको छ ।

सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म हेटौंडाको बुद्धचोकमा उभिएर भद्रअवधि आन्दोलन सुरु गरिएको छ । सोमबार र मंगलबार दुई दिन भद्रअवधि आन्दोलन गर्ने युवक हुनुहुन्छ, समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिका अध्यक्ष नेत्र चापागाईँ । गत असोज ९ गते पोखराबाट सुरु गर्नुभएको आन्दोलनको क्रममा सोमबार हेटौंडामा अध्यक्ष चापागाईँ आइपुग्नुभएको हो । उहाँले शिक्षा ऐन कहिले आउँछ सरकार ? ताराबाजी लै लै शिक्षामा सुधार खै ? हामी सिपमुलक शिक्षा, उद्यमशील समाज र सम्मानित शिक्षक आकर्षक सार्वजनिक विद्यालय चहान्छौं भन्दै आन्दोलन गरिरहनुभएको छ ।

नयाँ शिक्षा ऐन नल्याउँदा देशभर स्थानीय तहमा कानुन निर्माणमा जटिलता तथा अन्यौल सृजना गरेको छ । यसै आधारमा चापागाईले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको आधारमा तत्काल नयाँ विद्यालय शिक्षा ऐन जारी गरियोस्, शिक्षाको आधार इसीडी यसलार्ई विद्यालय शिक्षामा मान्यता दिने शिक्षा ऐन सुनिश्चितता गरियोस् र पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले हामीसँग गरेको सहमति पूर्ण रुपमा कार्यान्वय गरियोस् भनि माग गर्नुभएको छ ।

विद्यालयहरुमा खानेपानी र बिजुली महसुल तिर्न गाह्रो छ । सरकारले मन्दिरहरुको बिजुली महसुल फ्री दिएको छ भने विद्यालयलाई महंगो महसुल तिराउँछ । कम्तीमा एक सय युनिटसम्म बिजुली र खानेपानी निःशुल्क गरियोस्, कक्षा–८ को रजिष्ट्रेसन शुल्क र आफैंले पढेको सटिफिकेट लिन पैसा तिनुपर्ने कुरा निःशुल्क शिक्षाको खिल्ली उढाउनु हो र यसलाई तत्काल खारेज गरियोस् लगायत माग उहाँको छ ।

उहाँले पोखराबाट आन्दोलन सुरु गरि धनगढी, नेपालगञ्ज, सुर्खेत, विराटनगर हुँदै हैटौंडामा आइपुगेका हुन् । हेटौंडाबाट उहाँ आन्दोलनका लागि जनकपुर पुग्नुहुनेछ । त्यसपश्चात नेपालको संघीय राजधानी काठमाडौंको माइतीघर मण्डला अगाडि माग पूरा नभएसम्म अनिश्चितकालिन आन्दोलन गरिरहने बताउनुभयो ।