सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–५, इन्चराङमा एक जना पुरुष मृत फेला परेका छन् । शुक्रबार बिहान ६ बजेर १५ मिनेटको समयमा राक्सिराङ गाउँपालिका–८, शिखरपुर घर भई हाल बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२२, अमलेखगंज बस्ने २१ वर्षीय समीर सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सुनार इन्चराङस्थित चैनपुरबाट काँकडा जाने भित्री सडक खण्डमा मृत अवस्थामा फेला परेका थिए । पुरुष मृत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएर हेर्दा मृतकको टाउकोमा चोट, नाक मुखबाट रगत बगेको अस्थामा फेला परेका थिए । विशेष सुचनाको आधारमा घटनाबारे अनुसन्धान गर्दा बिहीबार सुनारको साथमा ३ जना रहेको खुलेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मनहरीमा थप अनुसन्धान भइरहेको अर्यालले जानकारी दिनुभयो । सुनारको शव हेटौँडा अस्पतालमा रहेको छ ।